
बागलुङ, १३ बैशाख । बागलुङको काठेखोला गाउँपालिकाका दलित समुदायले समाजमा परम्परादेखि चल्दै आइरहेका सबैखाले बालीघरे प्रथाको अन्त्य गर्ने घोषणा गरेका छन् ।
बालीघरे प्रथाको विरुद्धमा सशक्त हुन र त्यसका लागि सवैलाई संगठित पार्न ‘दलित बालिघरे प्रथाविरुद्ध साझा अभियान’ भन्दै उनीहरुले एक समिति समेत गठन गरेका छन् ।
काठेखोला गाउँपालिकाको आयोजनामा विहिबार र शुक्रबार बिहुँमा संचालित बालिघरे प्रथा अन्त्य’ विषय वृहत भेलामा सहभागी दलित समुदायले परम्परागत बालीघरे प्रथालाई अन्त्य गर्दै पेसालाई आधुनिकीकरण र ज्यालामा काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
भेलाले आगमी पुस मसान्तसम्म गाउँपालिकालाई बालीघर प्रथामुक्त गाउँपालिका घोषण गर्ने गरी गाउँपालिका स्तरीय दलित संजाल गठन गरेको छ । समितिको अध्यक्षमा गाउँकार्यपालिका सदस्य सुन्तली विक रहनुभएको छ ।
काठेखोला गाउँपालिका अन्तर्गतका ८ वडाको प्रतिनिधित्व हुने गरी गठित समितिको सदस्यमा गणेश नेपाली, सागर विक, भीमबहादुर किसान, बुद्धि विक, टंकबहादुर विक, दिलमाया किसान, सरबहादुर परियार, खडकबहादुर विक, देवीराम विक, खडकबहादुर विक, रहनुभएको छ ।
त्यस्तै सदस्यमा मनरुपा दर्जी, सम्झना नेपाली, डिलबहादुर विक, जुनबहादुर विक, रुपा किसान, लेखानीको धनरुपा विक, खेम गैरे रहेको गाउँकार्यपालिका सदस्य टिकासंगम विकले जानकारी दिनुभयो । १९ सदस्य समितिमा एक सदस्य पछि थप गर्ने बताइएको छ ।
बालीघर प्रथाले जातिय विभेदलाई संरक्षण गर्नुका साथै उचित पारीश्रमित समेत पाउन नसकेको निष्कर्ष निकाल्दै आवश्यक नीतिगत तथा प्राविधिक सुधार पछि गाउँपालिका बालिघर प्रथा मुक्त बनाउने नवनियुक्त अध्यक्ष सुन्तली विकले बताउनुभयो ।
काठेखोला गाउँपालिकामा विशेष गरी आरन र कपडा सिलाउने पेसा बालीघरे प्रथामा संचालन हुँदै आएको छ । वर्षभरी दुईचार पाथी अन्नमा काम गर्दा मेहनत अनुरुपको ज्याला पाउन नसकको आरन व्यवसायी धनबहादुर विकले बताउनुभयो ।
भेलामा अधिवक्ता यामबहादुर चर्मकार, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विक, पत्रकार नवीन शिशिर, संचारकर्मी गणेश नेपालीले विभिन्न विषयमा प्रशिक्षणात्मक सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीलाई गाउँकार्यपालिका सदस्य हेमलाल विश्वकर्माले धन्यवाद मनतव्य व्यक्त गर्नुभएको थियो ।










