
बागलुङ, २१ भदौं । बागलुङमा खोलाले बगाएर बेपत्ता भएका एक युवाको शब भेटिएको छ । बान्द्रे खोलाले बगाउँदा बेपत्ता भएका बागलुङ नगरपालिका–५ बान्द्रेका कमल सापकोटाको शुक्रबार विहान शव भेटिएको हो ।
बिहिबार राती परेको भीषण वर्षासँगै बानपा–४ कुँडुले हुँदै बग्ने बान्द्रैेखोलामा आएको बाढीले कुँडुलेदेखि मालिकातर्फ जाँदै गरेका तीन युवालाई गयराती (बिहिबार राती साढे १२ बजे) मोटरसाइकलसहित बगाएको थियो । तीन जना युवाकै शब भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) तथा सूचना अधिकारी विजय यादवले बताए ।
घटनामा परेर ध २ प ८०१० नम्बरको मोटरसाइकलमा सवार बागलुङ नगरपालिका–५ बान्द्रेका २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अविषेक रेग्मी र २० वर्षीय कमल सापकोटाको मृत्यु भएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बाढीले बगाएर एक सय मिटरदेखि पाँच सय मिटर तलसम्म उनीहरुको शव भेटिएको थियो । दुई जनाको शव रातीनै भेटिएपनि २० बर्षिय कमलको शव बिहान मात्रै भेटिएको हो । स्थानीयबासी र प्रहरी टोली खोजीमा सक्रिय थिए ।
उनीहरु मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर घर फर्किदै गर्दा मोटरसाइकललाई खोलाले बगाएको थियो । स्कुटर चालक सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्तकहरुको शब पोष्टमार्टमको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको छ ।