
बागलुङ, ७ साउन । साउनको पहिलो सोमबारका आज बागलुङका शिवालयहरुमा भक्तालुहरुको भीड लागेको छ ।
साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज बागलुङको गौरिधाम लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा बिहानदेखि भक्तजनको चहलपहल सुरु भएको छ । भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सबै प्रबन्ध मिलाईएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । २०५८ मा निर्मित मन्दिरमा बर्सेनि शिवरात्री र साउने सोमबारमा विशेष पूजाआजा हुनेगर्छ । यस्तै, बागलुङ नगरपालिका वडा नं. ९ तित्याङस्थित शिवालय मन्दिरमा पनि बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ । गौरिधाममा पर्वतको नाङ्लीबाङका साथै जिल्ला सदरमुकाम बागलुङ बजारबाट भक्तजनहरु पुग्ने गर्छन भने तित्याङको शिवालय मन्दिरमा जिल्ला सदरमुकाम बागलुङ बजार र मन्दिर आसपासका गाउँबाट भक्तालु शिवको पूजाआराधना गर्न शिवालयमा पुग्ने गरेका छन् ।
यस्तै काठखोला गाउँपालिका वडा नम्बर ५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिर र वडा नम्बर ७ रेशमा ओदानडाँडा शिवालय मन्दिर, गलकोट नगरपालिका वडा नं. ७ मल्मस्थित सिद्वेश्वर शिवालय मन्दिरमा पनि भक्तजनहरुको भिड लागेको छ ।
शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।









