
अर्जुन कार्की ।
बागलुङ, ३ साउन । बागलुङ नगर खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाले बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा वितरण गर्दै आएको खानेपानीमा गम्भिर लापरबाही गरेको छ । संस्थाले मानव स्वास्थ्यमा गम्भिर खेलवाड गर्दै किटाणु मार्ने औषधि (क्लोरिङ पाउण्डर) नै प्रयोग नगरी पानी वितरण गरेको पाइएको हो ।
नगर खानेपानी संस्थाले रिजर्भवायर ट्यांकीमा बुधबार साँझदेखि किटाणु मार्ने औषधि ( क्लोरिङ पाउण्डर) प्रयोग नगरेको पाइएको हो । संस्थामा भएको पाउण्डर सकिएको र खरिद नगरेको कारण बुधबार बेलुका ६ बजेदेखि पाण्डर नहालिएको संस्थाका कर्मचारीले बताए छन् । नगर खानेपानी संस्थामा क्लोरिन पाउण्डर प्रयोग गर्ने जिम्मा पाएका कर्मचारी किरण बहादुर कुमालले बुधबार बेलुकादेखि खानेपानीमा पाउण्डर प्रयोग नगरी वितरण गरिएको बताए ।
कुमालले संस्थामा भएको पाउण्डर सकिएको संस्थामा जानकारी गराएपनि उपलब्ध नगराएको बताए । ‘बुधबार बेलुका ६ बजेदेखि क्लोरिन पाउण्डर सकिएको हो,’ कर्मचारी कुमालले भने,‘पाउण्डर सकिन लागेको बेला र सकिएपछि पनि सुपरभाइजर, कार्यालय प्रमुख र कोषाध्यक्षलाई खबर गरेको थिए । कोषाध्यक्षले भए प्रयोग गर्न र नभए नगर्न भन्नुभयो ।’ पानीलाई शुद्ध बनाउनको लागि नगर खानेपानी संस्थाले दैनिक तीन पटक क्लोरिङ पाउण्डर प्रयोग गर्दै आएको थियो ।
क्लोरिङ पाउण्डर सकिएपछि नगर खानेपानीको ‘अटोमेटिक डोजिङ पम्प’ बन्द गरिएको छ । बागलुङ नगर खानेपानीले रेशको मुहान र कालिगण्डकीबाट बागलुङ नगरपालिका–३ रात्माटा स्थित रिजर्भवायर ट्यांकीमा ल्याएको पानीलाई शुद्ध गराउनको लागि क्लोरिङ गर्दै आएको छ । पानी फिल्टर भएपनि किटाणु मारेर शुद्ध बनाउनको लागि क्लोरिङ प्रयोग गरिदै आएको कर्मचारीहरु बताउँछन् ।
कुमालले संस्थाले क्लोरिङ पाउण्डर ल्याइदिएमा आफुले प्रयोग गर्ने बताउँछन् । ‘कार्यालय र समितिले पाउण्डर ल्याइदिए मैले २४ सै घण्टा प्रयोग गर्छु,’ उनले भने,‘उहाँहरुले ल्याउन सक्नु हुँदैन मैले के गर्ने ?’ पानीमा क्लोरिङ पाउण्डर प्रयोग नगरिएपनि वितरण नरोकिएको बताए ।
खानेपानीको नयाँ समितिले रिजर्भवायर ट्यांकीको अवस्था र वितरण कसरी भइरहेको छ भनेर वास्तै नगरेको कर्मचारीको भनाई छ । ‘समितिका नयाँ पदाधिकारी र सदस्यहरु रिजर्भवायर ट्यांकीको अवस्था के छ, कस्तो छ भनेर हेर्ना नै आउनु हुँदैन’ उनले भने,‘कहिले काही आएपनि पहिलेको समिति जस्तो खानेपानीको अवस्था के कस्तो छ भनेर बुझन अहिलेको समिति आउनु हुँदैन ।’ रिजर्भवायर ट्यांकीको पश्चिमको भागमा गत वर्ष र पूर्व तिरको भागमा यस वर्ष पहिरो गएको छ । हरेक वर्ष पहिरो जाँदा रिजर्भवायर ट्यांकी जोखिममा परेको कुमालले बताए । उनले ट्यांकी वरीपरी घेरावाल तारबार नगरिएको र पहिरोको जोखिममा हुँदा राती पानी पर्दा जागराम बस्नुपर्ने अवस्था रहेको बताए ।
संस्थाका सचिव जिवन आचार्यले क्लोरिङ पाउण्डर आउन दुई, तिन दिन लाग्ने बताए । उनले पाउण्डर सकिनु एक, दुई दिन अगाडी मात्र थाहा भएकोले काठमाडौंबाट मगाइएको बताए । ‘हामीलाई एक, दुई दिन अगाडी मात्र क्लोरिङ पाउण्डर सकिन लागेको थाहा भएको हो,’ सचिव आचार्यले भने,‘पहिले नै थाहा भएको भए समयमै खरिद गर्न सकिन्थ्यो । अब दुई, तीन दिनमा मात्र आउने र त्यसपछि पाउण्डर राख्छौं ।’ उनले क्लोरिङ पाउण्डर पोखरामा नपाइने र काठमाडौंमा मात्र पाइने हुँदा आउन समय लाग्ने बताए ।
क्लोरिङ पाउण्डर नआउँदासम्म बजारबासीले पानी उमालेर प्रयोग गर्नुपर्ने सचिव आचार्यको भनाई छ ।









