अर्जुन कार्की ।
बागलुङ, २८ असार । बागलुङकी युवा भलिबल खेलाडी आशिका क्षेत्रीले नेपाली भलिबल टिममा स्थान बनाएकी छिन् ।
नेपाल भलिबल संघले सार्वजनिक गरेको काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय खेलाडीको टोलीमा बागलुङकी क्षेत्री समावेश छिन् ।
बागलुङको जैमिनी नगरपालिका–७ जैदी बोरकी क्षेत्री विभागीय टिम नेपाल पुलिस क्लबमा आवद्ध छिन् ।
हालै काठमाडौंमा सम्पन्न प्रथम सहाना प्रधान स्मृति यू–१९ महिला भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशबाट सहभागी भएकी क्षेत्री ओपन्न स्पाइकरको रुपमा नेपाली टोलीमा समावेश भएकी हुन् । नेपाल भलिबल संघले नेपाली टोलीमा टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १–१ खेलाडी छनोट गरेको छ ।
बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ, लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मिना सुनार र आरती चौधरी छनौट भएका छन्भने सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना तथा गण्डकीबाट आशिका क्षेत्री छानिए ।
सानै उमेरबाट भलिबलमा आवद्ध क्षेत्रीले जन्मगाउँ र जिल्लामा उत्कृष्ट खेल प्रस्तुत गरेपछि २०७८ सालमा विभागीय टिम नेपाल पुलिस क्लबमा आवद्ध भएकी थिइन । क्षेत्रीले नेपाल पुलिसबाट पछिल्लो समय राष्ट्रियस्तरको भलिबल प्रतियोगितामा सहभागीता जनाउँदै आएकी छिन् ।