जननिगरानी साप्ताहिक पत्रिका आठौं वर्षमा प्रवेश

बागलुङ, २ असार । बागलुङको गुहेली संचार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित हुँदै आएको जननिगरानी साप्ताहिक पत्रिका आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । पत्रिकाले सातौं वार्षिकोत्सव आईतबार मनाएको छ ।

सातौं वार्षिकोत्सवको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले उद्घाटन गर्नुभएको थियो । उहाँले सञ्चार माध्यमहरुले राम्रो कामको साथसाथै नराम्रा काम भएका भएपनि खबरदारी गर्न नछुटाउन आग्रह गर्नुभएको थियो ।

उहाँले पछिल्लो समय बढेको भ्रष्टाचारका बिषय खोजी गर्न पत्रकारलाई आग्रह गर्नुभएको छ । ‘देश डुवाएको भ्रष्टाचारले हो, त्यस्ता बिषय खोजी खोजी लेख्नुपर्छ’ थापाले भन्नुभयो,‘देश डुवाउनेको पनि निगरानी आवस्यक छ ।’ संचारमाध्यम र पत्रकार कसैको झोले नबन उहाँले सुझाउनुभयो । उहाँल्े देशको कर छली गरेर केही व्यक्ति रातारात धनी बनेर देशलाई घाटा गराएका बताउँदै तिनीहरुको पत्रकारले पर्दाफास गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष थापाले उनले संचार माध्यमहरु निश्पक्ष बन्नुपर्ने बताउँदै कसैको पक्षमा मात्रै लाग्ने नभइ सबैको बन्नुपर्ने भन्दै स्थानीय सरकारले गरेका सबै कामको समाचार बाहिर ल्याउन पनि आग्रह गर्नुभएको थियो । आम नागरिकको विश्वास समेत पत्रकारितामा भएकोले सत्य लेख्न पत्रकार डरायो भने देशमा बेथिती मौलाउने थापाले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले राष्ट्रियता जोगाउने काममा पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै संचारमाध्यमले देशको अस्तित्व जोगाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिताले समाजलाईपनि सही दिशा दिन सक्ने धारणा समेत राख्नुभयो ।

कार्यक्रममा कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष अमर थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडा अध्यक्षहरु बिद्यापति शर्मा, वडा नम्बर ४ का वडाअध्यक्ष लक्ष्मण पुन, राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, जिल्ला सहकारी संघकी अध्यक्ष हुमाकुमारी जिसी, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, पत्रकार महासंघ बागलुङका सचिव बिजय राना र प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङकी अध्यक्ष सिर्जना पन्तले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वार्षिकोत्सवको अवसरमा प्रकाशित विशेष विशेषांक प्रकाशनमा सहयोग गर्ने पत्रकारहरु प्रकाश बराल, संगम घर्तीमगर, तारानाथ आचार्य, सिर्जना पन्त, खेमराज गौतम र काठेखोला गाउँपालिकाका प्रवक्त टिकासंगम विकलाई सम्मान गरिएको थियो ।

गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य सचिव सूर्य बहादुर थापा र संचालन सह–सचिव तारानाथ आचार्यले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here