
काठमाडौँ, २८ जेठ । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको हो ।
प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सन्दीप गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल क्वाडमा रहेको तर अमेरिकाले भिसा नदिएको क्यानको भनाई छ ।
‘जारी आईसीसी पुरुष टी – २० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ ।











