
बागलुङ, २१ जेठ । नेपाल बंगबन्धु कप अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशको ढाकामा आईतबार सम्पन्न निकै रोमाञ्चक दोस्रो सेमिफाइनलमा केन्यालाई पेनाल्टीमा ५९–५५ ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
निर्धारित समयमा नेपाल र केन्याको ५०–५० अंक बराबरी भएपछि फाइनल प्रवेशको लागि खेल पेनाल्टी (५ रेडमा) धकेलिएको थियो । नेपालले पेनाल्टीमा (५ रेडमा) केन्यालाई ९–५ अंकले पराजित गर्यो ।
नेपालले उपाधिको लागि घरेलु टोली बंगलादेशको सामना गर्नेछ । आईतबार भएको पहिलो सेमिफाइनलमा आयोजक बंगलादेशले थाइल्याण्डलाई ४१–१८ अङ्कले पराजित गर्दै फाइनल पुगेको छ ।
नेपालले समूह चरणको ५ खेल मध्ये ४ खेलमा विजयी हुँदै समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूह चरणमा मलेसिया, पोल्याण्ड, दक्षिण कोरिया, इन्डोनेसिया माथि जित निकालेको थियोभने, बंगलादेशसँग पराजित भएको थियो ।









