
बागलुङ, १६ जेठ । बागलुङका पत्रकारहरुको लागि प्रविधि सम्बन्धी तालिम सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा मंगलबारदेखि बागलुङका क्रियाशिल पत्रकारहरुको लागि प्रविधिमैत्री पत्रकारिता तालिम सुरु भएको हो ।
तालिमको उद्घाटनपछि बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले अहिलेको युग सूचना प्रविधिको युग भएकोले पत्रकारहरु यो विषयमा झन अब्बल हुनुपर्ने बताउनुभयो । उहाँले तालिम तालिममा मात्र सिमित नभइ सिकेको सिपलाई व्यवहारमा लागु गर्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष तथा सल्लाहकार मुकेशचन्द्र राजभण्डारीले अनलाइन मिडिया सञ्चालन गर्ने सञ्चालक र पत्रकारले सूचना प्रविधिको विषयमा जानकार भएमा धेरै समस्या भोग्नु नपर्ने बताउनुभयो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलको अध्यक्षता, सहसचिव तारानाथ आचार्यको स्वागत र सचिव विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
तालिममा ३२ जनाको सहभागिता रहेको छ । तालिम १७ गतेसम्म सञ्चालन हुनेछ ।









