अर्जुन कार्की ।
बागलुङ, ३१ बैशाख । बागलुङमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ बागलुङको आयोजनामा सोमबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको हो ।
लिगको पहिलो खेलमा बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र)ले विजयी सुरुवात गरेको छ । बागलुङ कालिकाले उद्घाटन खेलमा रुद्रेपिपल युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
खेलको १ मिनेटमै रुद्रेपिपलका विजय बोहोराको आत्माघाति गोलको मद्धतले अग्रता लिएको बागलुङ कालिकाले खेलको ११ औं र १३ औं मिनेटमा मनिक श्रेष्ठले गोल गर्दै पहिलो हाफमा ३–० गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा रुद्रेपिपलले खेलमा फर्किने प्रयास गरेको थियो । रुद्रेपिपलको लागि खेलको दोस्रो हाफको पहिलो मिनेटमा सन्तोष थापाले सुन्दर गोल गरेका थिए । जितसँगै बागलुङ कालिकाले तीन अंक बटुलेको छ ।
यस्तै सोमबार नै भएको दोस्रो खेलमा पावर फिटनेश क्लब र कालिका भगवती युवा क्लबले ३–३ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । खेलको चौथो र सातौं मिनेटमा गोल गर्दै बरदान थापाले गोल गर्दै पावर फिटनेशलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा दुई गोलको अग्रता लिएको पावर फिटनेशले दोस्रो हाफमा गोल बेहोर्न पुगेको थियो । कालिका भगवतीका सोनाम पुनले ह्याट्रिक गर्दै टिमको हार टारेका थिए । पुनले ५० औं, ५३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याए । ६० औं मिनेटमा मनोज खत्रीले गोल गर्दै पावर फिटनेशलाई पुनः अग्रता दिलाएपनि कालिका भगवतीका सोनाम पुनले ६८ औं मिनेटमा ह्याट्रिक गोल गर्दै खेललाई बराबरीमा पु¥याए । बराबरीपछि दुवै टिमले एक/एक अंक बाढेका छन् ।
जेठ ६ गतेसम्म सञ्चालन हुने जिल्ला लिगमा ८ टिमको सहभागिता रहनेछ । फुटबल संघले ८ टिमलाई दुई समूहमा विभाजन गरेर लिग सञ्चालन गरेको छ । लिगमा एक टिमले तीन खेल खेल्नेछन् । दुई समूहको शीर्षस्थानमा रहने दुई टिमले उपाधि विजेताको लागि प्रतिस्पर्धा गर्नेछन्भने पुछारमा हुने टिम रेलिगेशनमा पर्ने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले बताए ।
प्रतियोगिता अन्तरगत मंगलबार पहिलो खेल रामरेखा फुटबल क्लब र गुठी युनाईटेड क्लब विच हुनेछभने दोस्रो खेल विर गोर्खाली युवा क्लब र बाल जिवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब) विच हुने जिल्ला फुटबल संघ बागलुङका महासचिव रेशम गोतामेले जानकारी दिए ।
लिगको समूह ‘क’मा बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, रुद्रेपिपल युवा क्लब, पावर फिटनेश क्लब र कालिका भगवती युवा क्लब रहेका छन्भने समूह ‘ख’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, वीर गोर्खाली युवा क्लब र बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब) रहेका छन् ।
लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने अध्यक्ष राजभण्डारीले बताए । प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले गरेका थिए ।