
बागलुङ, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय बागलुङले कर्तव्य ज्यान मुद्धामा फैसाला भएका फरार दुई जनालाई १८ वर्षपछि पक्राउ गरेको छ ।
२०६३ बैशाख ३० गते कर्तव्य ज्यान मुद्दामा सर्वाेच्च अदालतले दोषी ठहर गर्दै १० वर्षको कैद फैसला तोकेपछि फरार रहेका बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ४ घर भई हाल कपिलवस्तुको बाणगंगा नगरपालिका–७ बनगाई बस्ने ५१ वर्षिय दुर्गा गौतम भन्ने दुर्गा आचार्य र सोही ठाउँ बस्ने उनकी ४६ वर्षिय बहिनी पार्वती आचार्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपि) विजय यादवले जानकारी दिए । जिप्रका बागलुङबाट खटिएको विशेष टोलीले बैशाख २२ गते बाणगंगाबाट दुवै जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका आचार्य दिदीबहिनीलाई जिल्ला अदालत बागलुङमा पठाईएको र अदालतको फैसाला कार्यान्वयनको लागि बिहिबार जिल्ला कारागार बागलुङमा पठाइएको डिएसपि यादवले बताए ।









