तंग्राममा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

बागलुङ, २१ बैशाख । जिल्लाको काठेखोला गाउँपालिका—४ तंग्राममा महिला शसक्तीकरण तथा सिपमूलक कार्यक्रम अन्तर्गत महिलाहरुका लागि चार दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले निरन्तर प्रयास र मेहनतबाट मात्रै सफलता हाँसिल गर्न सकिने भन्दै नेतृत्व विकास र उद्घोषणमा पनि निरन्तरको मेहनत लगाव आवश्यक रहेको बताए ।

‘जे कुरा पनि निरन्तरको अभ्यास र मेहनतले मात्रै सफलता हात लाग्छ,’ उनले भने,‘तपाईहरु भाग्यमानी हुनुहुन्छ कि तपाईहरुले यो कुरा सिक्न पाउनुभयो । अब तपाईहरुले यसलाई व्यवहारमा उतार्दै अभ्यास गर्दै जानुपर्छ । आफ्नो समुह विभिन्न संघ संस्थाको बैठक र कार्यक्रमहरुमा अभ्यास गर्नुभयो भने पक्कै सहज हुनेछ ।’ उनले आफ्ना कुराहरु आकर्षक ढंगले राख्न सक्दा पनि धेरै कुराले फाईद पुग्ने बताए । ‘आफ्ना कुराहरु राम्रोसंग अरुलाई बुझाउन सकियो भने त्यसले धेरै फाईदा गर्छ,’अध्यक्ष थापाले भने,‘त्यसका लागि बोल्ने कला हुनुपर्छ । शिलशिला मिलाएर बोल्न सक्नुपर्छ ।’

कार्यक्रममा बोल्दै काठेखोला गाउँ कार्यपालिका सदस्य एवं प्रवक्ता टीका संगम विकले तालिममा सिकेका कुराले व्यक्तिगत र सामाजिक जीवनमा पनि सकारात्मक परिवर्तन आउने विश्वास गरे । ‘यो तालिमबाट तपाईहरुले धेरै कुरा सिक्नुभएको मैले महसुस गरें, यहाँहरुले अगाडि आएर धेरै कुराहरु राख्न सक्ने पनि हुनुभएको रहेछ,’ उनले भने,‘यो कुराहरुले यहाँहरुको व्यक्तिगत मात्रै होईन सामाजिक जीवनमा पनि महत्वपूर्ण योगदान पुग्नेछ भन्ने मेरो विश्वास छ ।’

चारदिने तालिमका प्रशिक्षक पत्रकार संगम घर्तीमगरले नेतृत्व क्षमता र बोल्ने कुरा केही दिनको मात्रै सिकाईबाट पूरा नहुने बताए । ‘यी र यस्ता तालिमहरुबाट केही आधारभूत कुराहरु सिक्ने हो,’उनले भने,‘नेतृत्व क्षमता विकास गर्ने र मिठास र शिलशिलेवार बोलीका लागि दुई चार दिनले सम्भव हुँदैन । त्यसका लागि निरन्तर अभ्यास जरुरी छ । आधारभूत कुराहरुको ज्ञान लिईसक्नुभएको छ । अब तपाईहरुले आफ्नो ठाउँमा हुने कार्यक्रमहरु प्रयास गर्नुभयो भने पक्कै राम्रो गर्नसक्नुहुनेछ ।’

कार्यक्रममा काठेखोला गाउँपालिकास्तरीय महिला सञ्जालकी अध्यक्ष नरमाया थापाले पनि मन्तव्य राखेकी थिईन् । तालिममा सहभागी प्रशिक्षार्थीहरु हिरा थापा, देवी थापा, रुपी थापा, कृष्णकुमारी पुन, चनु रोका मगर, अमृता थापा, मनु पुन, कुमारी थापा, तारादेवी थापा, सीता किसान लगायतले तालिमको अनुभव साटेका थिए । उनीहरुले तालिम अवधी छोटो भएकाले आगामी दिनमा अझ पर्याप्त समय सहित यसखाले तालिमको आयोजना गर्न आग्रह गरेका थिए ।

काठेखोला गाउँपालिका–४ तंग्रामकी वडा सदस्य एवं महिला समन्वय समिति संयोजक सम्झना थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सदस्य भूमिका थापा परियारले गरेकी थिईन् । सोमबारबाट सुरु भएको तालिममा पत्रकार संगम घर्तीमगर सहजीकरण गरेका थिए । तालिममा उद्घोषक, उद्घोषण, प्रभावकारी उद्घोषणका उपायहरु, कार्यक्रमको पूर्वतयारी, माईक्रोफोन र पोडियमको प्रयोग, प्रभावकारी भाषणकला, नेता नेतृत्व र असल नेतृत्वका गुणहरु तथा सकारात्मक सोंचका बारेमा प्रशिक्षक घर्तीले सहजीकरण गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here