बागलुङ, २० बैशाख । बागलुङका दुई खेलाडी राष्ट्रिय कबड्डी टिमको पहिलो चरणमा छनोट भएका छन् । आगामी जेठ १३ गतेदेखि २१ गतेसम्म बंगलादेशको ढाकामा हुने अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको लागि अखिल नेपाल कबड्डी संघले बिहिबार पहिलो चरणमा २६ जना खेलाडी छनोट गरेको छ ।
लुम्बिनी प्रदेशको नवलपरासीमा सम्पन्न पहिलो चरणको छनौटमा गण्डकी प्रदेशबाट बागलुङ नगरपालिका–३ का जीवन ब्लोन र बडिगाड गाउँपालिका–४ का विशाल थापाले नेपाली टोलीको पहिलो चरणमा स्थान बनाएको बागलुङ कबड्डीका प्रशिक्षक सन्दिप पन्तले जानकारी दिए । छनौट भएका थापा र ब्लोन शनिबारदेखि कञ्चनपुरको महेन्द्रनगरस्थित कबड्डी प्रशिक्षण केन्द्रमा हुने बन्द प्रशिक्षणमा जुट्ने प्रशिक्षक पन्तले बताए ।
बैशाख २७ गते हुने अन्तिम चरणको छनौटमा आफुलाई सफलसिद्व गर्न थापा र ब्लोनले मेहेनत गरेको प्रशिक्षक पन्तले बताए । ‘घरेलु खेलकुदमा देखाएको उच्च प्रदर्शनले उनीहरु दुवै राष्ट्रिय टोलीमा अटाउनेमा विश्वस्त छु’ पन्तले भने । रेड र डिफेन्समा दुवै खेलाडि सक्षम रहेको पन्त बताउँछन् । जीवन रेडर हुन् भने विशाल अलराउण्डर खेलाडि हुन् । थापा र ब्लोन गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने नियमित खेलाडी समेत हुन् ।
नेपाली टिमको अन्तिम चरणमा १४ जना खेलाडी छनौट हुने छन् ।