
काठमाडौं, १९ बैशाख । नेपालको आउँदो टी-२० विश्वकपमा खेल्ने १५ सदस्यीय स्क्वाड घोषणा गरिएको छ ।
नेपालको ओपनिङ जोडीमा नियमित ओपनरहरु कुशल भुर्तेल र आसिफ शेख नै रहनेछन् । वैकल्पिक ओपनिङ ब्याट्सम्यानका रुपमा अनिल साह छन् । उनी विकेटकिपर पनि हुन् ।
यसैगरी अनुभवी सोमपाल कामी र करण केसीका साथमा अविनाश बोहोरा प्रमुख फास्ट बलरका रुपमा रहेका छन् । युवा प्रतिस जीसी र कमलसिंह ऐरीले पनि १५ सदस्यीय स्क्वाडमा स्थान बनाएका छन् । सन्दीप लामिछानेको अनुपस्थितिमा युवा स्पिनर सागर ढकाललाई मौका मिलेको छ भने मुख्य स्पिनरका रुपमा ललित राजवंशी छन् ।
अलराउन्ड विवेक यादव र फास्ट बलर आकाश चन्द स्वाडमा समेटिन सकेनन् ।
विश्वकपमा नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्डस्, दोस्रो खेल श्रीलंकासँग जुन १२, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १५ र चौथो खेल बंगलादेशसँग जुन १७ मा खेल्नेछ ।









