५ महिने हिमानीको जीवनरक्षाका लागि सहयोगको अपिल

बागलुङ, १२ बैशाख । बागलुङको तमानखोला गाउँपालिका–१ का केशबहादुर अर्गेजा मगरले छोरीको जीवन रक्षाका लागि सहयोगको अपिल गरेका छन् ।

आफ्नो ५ महिनाकी छोरी हिमानी अर्गेजामगरको कलेजोमा समस्या देखिएको र उपचारका लागि ठूलो रकम लाग्ने भएकाले सहयोगका लागि अपिल गर्नुपरेको उनले बताए । हिमानीको कान्ति बाल अस्पताल काठमाडौंको आईसियुमा उपचार भएको थियो । अस्पतालका डाक्टरका अनुसार हिमानीको उपचारको लागि कलेजो प्रत्यारोपण मात्रै विकल्प भएको र त्यो भारतमा सम्भव हुने बताएपछि परिवारले अस्पतालबाट निकालेर कोठमा राखेको बुबा केशबहादुरले बताए ।

उनले उपचारको लागि भारत लैजान र कलेजो प्रत्यारोपण गर्नको आर्थिक अभाव भएकोले सहयोगको याचना गर्नुपरेको बताए । ‘काठमाडौंकै वीर अस्पताल र टिचिङ अस्पतालमा पनि प्रयास ग¥यौं, त्यसपछि कान्ति बाल अस्पतालमा उपचार गरेका थियौं,’ उनले भने,‘अस्पतालले उपचार सम्भव नभएको भन्दै कि घर लैजा कि प्रत्यारोपण गर्न भारत लैजा भनेर डिस्चार्ज गरिदिएपछि अहिले काठमाडौंको कोठामा राखेको छौं ।’

अर्गेजामगरले छोरीलाई भारतको एपोलो अस्पतालमा लगेर कलोजो प्रत्यारोपण गर्नुपर्ने भनेर डाक्टर भनेको र त्यसका लागि ४५ लाख बढि खर्च लाग्ने भएकाले सहयोगको अपिल गरेको बताए । ‘सानो खर्चमा उपचार हुन्थ्यो भने जसरी तसरी गर्थें होला, बुर्तिबाङ देखाउँदा यहाँ कान्तिमा पठाईदियो, अहिले यहाँबाट भारत लैजा भनेको छ,’उनले भने,‘कलेजो फेर्नका लागि ४५ लाख खर्च लाग्छ रे । म गाउँमा खेती किसानी गरेर बस्ने मान्छेले कसरी जुटाउनु त्यत्रो पैसा ?’ बाउ आमा गाउँमै खेती किसान गरेर जिविकोपार्जन गर्दै आएकाले हिमानीको उपचारमा आर्थिक समस्या भएको आफन्त गोपी गगन पुनले बताए ।

‘परिवारको आर्थिक अवस्था निकै कमजोर छ, खेती किसानी गरेर बिहान बेलुकाको छाक टार्ने परिवार हो,’उनले भने,‘देश विदेशमा रहनुभएका सहयोगी मनका धनी व्यक्तिहरुले आर्थिक सहयोग गर्नुभयो भने नानुलाई बचाउन सकिएला भनेर सहयोगको अपिल गरेका छौै ।’ सहयोग गर्न चाहानेहरुले हिमानीका बुबा केशबहादुर अर्गेजाको ग्लोबल आईएमई बैं गोंगबु शाखा काठमाडौंमा रहेको खाता नम्बर ०३३०९०१२४२०६५२ मा सिधै सहयोग रकम जम्मा गर्न सक्नेछन् ।

कसैले सहयोगका लागि सम्पर्क गर्नुपरेमा ९८६७६४३२२५, ९८४९४६१३३९ मा सम्पर्क गरी सहयोग गर्न सकिनेछ । गत चैत ७ गतेदेखि गम्भीर समस्या देखिएकी हिमानीको अहिले कान्ति बाल अस्पताल काठमाडौंमा आईसियुमा राखेर उपचार गरिएको छ । अस्पतालका डाक्टरले कि कलेजा प्रत्यारोपणका लागि भारत लैजान कि घरमा लैजान भनेको बताईएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here