सकियो दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप

बागलुङ, २ बैशाख ।  बागलुङको काठेखोला गाउँपालिकाले आयोजना गरेको दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप शनिबार सम्पन्न भएको छ ।
काठेखोला गाउँपालिका–२ भीमापोखराको अक्षेते बजारमा गत बधुबारदेखि सुरु भएको कपमा आयोजना गरिएको वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ तंग्रामले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ७ रेशलाई पराजित गर्दै तंग्रामले उपाधि जितेको हो ।
उपाधि विजेता तंग्राम र उपविजेता रेशले क्रमशः १ लाख र ६० हजार नगद  सहिद ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
यस्तै दोस्रो काठेखोला लोकतारा–२०८० अनिता थापा बन्नु भएको छ । फाइनल राउण्डमा सात जनाको सहभागिता रहेकोमा थापा प्रथम हुँदै नगद ३० हजार रुपैयाँ प्राप्त गर्नुभयो । यस्तै पाँच टिमको सहभागिता रहेको ताराखेल प्रतियोगितामा ताराखोला गाउँपालिका (रातो) प्रथम भएको छ । ताराखोलाले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
यस्तै व्याडमिन्टन प्रतियोगितामा मिन सागर गुरुङ र दुर्गा बहादुर पुनको समुह प्रथम भएको छ । उनीहरुले १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै सामुहिक नृत्य प्रतियोगितामा काठेखोला–४ तंग्राम प्रथम भएको छ । तंग्रामले २० हजार रुपैयाँ प्राप्त गर्यो । गजल प्रतियोगितामा विष्णु आले प्रथम हुँदै १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै गाउँपालिकाले तीन जनालाई काठेखोला प्रतिभा सम्मान–२०८० बाट सम्मानित गरेको छ । गाउँपालिकामा जन्मेर खेलकुद र साहित्य र संगितमा योगदान दिएको भन्दै दिल शिरीष, कृष्ण प्रसाद कंडेल र हेमराज आश्रमलाई सम्मान गरिएको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले बताउनुभयो ।
विजेता खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेज बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, कार्यपालिका सदस्य र वडाअध्यक्षहरुले पुरस्कृत गर्नुभएको थियो ।
काठेखोला गाउँपालिकाको अयोजना र काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनामा प्रतियोगिता सम्पन्न भएको हो । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो
कार्यक्रममा पञ्चेवाजा, भजन, यानीमाया, झाम्रे, सालैजो लगायतका झाँकी प्रदर्शनी गरिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here