प्रहरी कल्याणकारी कोषले पूर्वप्रहरीलाई अन्याय गरेको भन्दै ज्ञापनपत्र

बागलुङ, २४ फागुन । नेपाल पूर्व प्रहरी संगठन बागलुङले ६ बुँदे ज्ञापन पत्र जिल्ला प्रहरी कार्यालय मार्फत नेपाल प्रहरी कल्याण कोषका संरक्षक प्रहरी महानिरीक्षकलाई पठाएको छ । प्रहरी कल्याणकारी कोषले पूर्व प्रहरीहरुको कल्याणका लागि एकदमै कम रकम दिने गरेको भन्दै कोषको न्यायोचित वितरण गर्न माग गरेर बिहिबार जिल्ला प्रहरी कार्यालय बागलुङ मार्फत ज्ञापनपत्र बुझाएको हो ।

नेपाल पूर्व प्रहरी संगठनका राष्ट्रय अध्यक्ष बसन्त राज कुँवरले जारी गरेको विज्ञप्ती जिल्ला शाखाका अध्यक्ष टिका बहादुर कार्कीको टोलीले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) बसन्त बहादुर भुजेललाई ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कंडेल काम विशेषले फिल्डमा गएकोले प्रहरी निरीक्षक भुजेललाई मार्फत ज्ञापन पत्र बुझाइएको अध्यक्ष कार्कीले बताउनुभयो ।

पूर्वप्रहरी संगठनले २०४९ फागुनदेखि २०६९ भाद्रसम्मको कल्याणकोषको आयव्ययको हिसाव नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारी र स्वतन्त्र चार्टर्ड एकाउन्टेन्ट वा अडिट फर्म समेत सहभागी गराई छानविन समिति गठन गर्नुपर्ने, नेपाल प्रहरी कल्याण कोषको रकमबाट कल्याणकारी कार्यमा रकम विनियोजित गर्दा मूल धनबाट भएको वा हुने बढ्ताको (कम्तीमा बैंक व्याजका आधारमा) ४०% वहालका प्रहरीको लागि, ४० प्रतिशत पूर्वप्रहरीको लागि र २०% आयमूलक कार्यमा खर्च गर्ने निर्णय गर्नुपर्ने गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ । यस्तै प्रहरी कल्याणकोष संचालन समितिमा ४०% प्रतिनिधित्व पूर्वप्रहरी संगठनबाट वा पूर्व प्रहरीहरुबाट हुने व्यवस्था गरिनुपर्ने, प्रहरी संगठनको काम शान्ति सुरक्षा दिने भएकोले कल्याणकारी योजना अन्तरगतका व्यापारीक कामहरु पूर्व प्रहरी संगठनलाई हस्तान्तरण गरिनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

यस्तै नेपाली सेनाको झै पूर्व प्रहरीहरुको कल्याणमा समन्वय तथा योजना गर्न प्रहरी प्रधान कार्यालयमा अफिस सहित २ जना पूर्वप्रहरी पदाधिकारीहरुलाई र हरेक प्रदेशमा १/१ जना पदाधिकारीलाई पूर्व दर्जा अनुसारको सेवा सुविधा दिई साथै निजहरुलाई सहयोग गर्न बहालका प्रहरीहरु समेत दिएर पूर्व प्रहरी कल्याण समन्वय शाखा स्थापना गरिनुपर्ने र प्रहरीका अमर सहिद परिवारका सन्ततीका लागि १०% र प्रहरी परिचर देखि ब.प्र.ना.नि. दर्जा सम्मका पूर्वप्रहरीहरुका सन्ततीहरुका लागि ५% नयाँ भर्नामा कोटा प्रदान गर्ने व्यवस्था गर्नुपर्ने माग राखेको छ । पूर्व प्रहरी संगठनले मागहरु ३५ दिनभित्र पुरा गर्न अनुरोध गर्दै समयमा माग पूरा नगरिएमा प्रहरी कल्याणकोष व्यवस्थापन संचालक समितिको काम कारवाही विरुद्ध देशव्यापी विरोधका कार्यक्रम गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।

ज्ञापन पत्रमा प्रहरी कल्याण कोषमा पूर्व प्रहरीहरूको ६० प्रतिशतभन्दा बढी योगदान हुँदाहुदै पनि पूर्व प्रहरीहरूको कल्याणमा न्यून रकम मात्र छुट्याई ठुलो रकम हिनामिना भइरहेको बताएको छ । ‘मूल धनसमेत मासेर कमिसनका लागि ट्याङ्क, जमिन, उपकरण आदि किन्ने र पेट्रोल पम्पहरू लगाई कोषको दुरुपयोग गर्ने काम भएको छ भन्ने बाहिर चर्चा रहेको छ जसको एक उदाहरण पूर्व प्र.म.नि. तथा कोषका संरक्षक ओमविक्रम राणालाई अदालतबाटै कल्याण कोषको दुरुपयोग बापत जेल सजाय भएबाटै पनि प्रमाणित भएको छ,’ ज्ञापन पत्रमा भनिएको छ । प्रहरी कल्याण कोषबाट मूल धन नमासी सो कोषको व्याजबाट मात्रै कल्याणका कामहरू गर्नुपर्नेमा मूल धनबाटै जथाभाबी र बदनियतपूर्वक लगानी हुन थालेको पूर्व प्रहरी संगठनको निष्कर्ष छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here