
बागलुङ, २३ फागुन । धौलागिरी जागरण दैनिकको १७ औं वार्षिकोत्सव पर्यटकीयस्थल कारिकोटमा सम्पन्न भएको छ ।
बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ सञ्चालन भइरहेको समयमा पञ्चकोट मध्यको एउटा कोटको रुपमा बागलुङ नगरपालिका–७ मा अवस्थित धार्मिक पर्यटकीयस्थल कारिकोटमा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाले मोफसलमा पत्रकारिता क्षेत्र धरासायी बन्नबाट जोगाउन धौलागिरी जागरण दैनिकको ठूलो हात रहेको बताउनुभयो ।
उहाँले पत्रकारिता क्षेत्र अत्यन्तै संकटमा रहेको समयमा उदाएर १७ वर्ष सम्म अनवरत रुपमा दैनिक पत्रिका प्रकाशन भइरहनु मोफसलको पत्रकारिता क्षेत्रका लागि ठूलो योगदान रहेको बताउनुभयो । “१७ वर्षको अवधिमा बागलुङमा धेरै पत्रपत्रिका आए तर निरन्तरता पाउन सकेनन्, धौलागिरी जागरणले निरन्तरता मात्रै पाएन नेपालमै चर्चित पत्रकार उत्पादन गर्न समेत ठूलो भूमिका खेल्यो” रानाले भन्नुभयो “तडक भडकपूर्ण वार्षिकोत्सवलाई अन्त्य गर्दै पर्यटकीय स्थलको प्रचार प्रसार संगै वार्षिकोत्सव मनाउने कार्य उदाहरणीय बनेको छ ।” उहाँले कारिकोटलाई उजागर गर्न यहाँका पत्रकारहरुले कलम चलाउनेमा आफू आशावादी रहेको बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष रुद्र केसीले कारिकोटलाई पञ्चकोट पछिको गन्तव्य बनाउने गरी प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै बागलुङ नगरपालिका–७ का वडा अध्यक्ष मेघनाथ गैरेले कारिकोट, माझकोट, रायरायकोट र संसारकोटलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल भइरहेको बताउनुभयो ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डिल बहादुर कार्की, बानपा ५ का वडा सदस्य बलाराम सापकोटा, सामुदायिक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष कुल बहादुर कार्की, प्रेस चौतारी नेपाल बागलुङका सचिव अर्जुन कार्की, प्रेस युनियन बागलुङका सह–सचिव नवराज परियार र कारिकोट मन्दिर धार्मिक संस्थाका अध्यक्ष भीम बहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पत्रिकाका सम्पादक राम बहादुर जिसीले स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान गर्न तथा स्थानीय स्रोत साधनको पहिचान र प्रचारमा सहयोग गर्ने उद्देश्यका साथ धौलागिरी जागरण दैनिकको वार्षिकोत्सव विगत ११ वर्षदेखि बागलुङ सदरमुकाम भन्दा बाहिर मनाउदै आएको जानकारी दिनुभयो । उहाँले यस पटक पञ्चकोट मध्यको एउटा शक्तिशाली कोटको रुपमा रहेको कारिकोटमा पत्रिकाको वार्षिकोत्सव मनाइएको बताउनुभयो ।
कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अन्जु)को अध्यक्षता, संस्थाका सचिव सरस्वती खड्का परियारको स्वागत तथा सम्पादक राम बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले धौलागिरी जागरण सहित अग्रसर साप्ताहिक, आदर्श संचार अनलाईन संचालन गरिरहेको छभने धौलागिरी टेलिभिजनमा समेत सहकार्य गर्दै आएको सम्पादक जिसीले बताउनुभयो ।