
बागलुङ, १६ फागुन । बागलुङको पञ्चकोटमा संचालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा मंगलबार आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन भएको छ ।
गण्डकी प्रदेशका कृषि मन्त्रालयका कृषि विज्ञहरु, बागलुङ, पर्वत र म्याग्दीका कृषि ज्ञान केन्द्र र भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका विज्ञहरु र स्थानीय कृषकहरुको उपस्थितीमा आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन सम्पन्न गरिएको हो ।
सम्मेलनमा बोल्दै गण्डकी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्रालयका प्रदेश सचिव डा. टंकप्रसाद प्रसाईले कृषिमा दुई वटा क्रान्तिको आवश्यक रहेको बताएका छन् । उनले कृषिको विकासको लागि हरित क्रान्ति र स्वयत क्रान्तिको आवश्यकता रहेको बताए । सचिव प्रसाईले हरित क्रान्ति मार्फत कृषि क्षेत्रमा ताजा तरकारी उत्पादन, करेशाबारीमा आवश्यक तरकारी उत्पादन, व्यवसायिक तरकारी खेतीका साथै आवश्यक खाद्यान्न उत्पादन र फलफुल खेती गर्नुपर्ने बताउँदै स्वयत क्रान्ति मार्फत दुग्धजन्य पदार्थ उत्पादनको लागि पशु पालन र दुध उत्पादन एथेष्ट ढंगले गरिनुपर्ने बताए ।
प्रदेश सचिव प्रसाईले गण्डकी प्रदेशका तीन जिल्लामा न्यून र अन्य जिल्लामा आवश्यकस्तरमा उत्पादन हुने गरेको बताए । ‘मनाङ, मुस्ताङ र कास्कीमा उत्पादन न्यून रहेको छ । तीन जिल्लामा उत्पादनमा जोड दिनुपर्ने अवस्था छ । ती जिल्लामा विशेष कार्यक्रम लागुपर्ने हुन्छ,’ उनले भने,‘गोरखा, लम्जुङ, तनहुँ, पर्वत, स्याङ्गजा र बागलुङ जिल्लामा आवश्यक खाद्यान्न आवश्यकस्तरमा उत्पादन हुन्छन् । तर, गण्डकी प्रदेश पर्यटकीय र धार्मिक पर्यटकीय प्रदेश हो त्यसैले यतिले पुग्दैन । बाहिरबाट आउने पर्यटकहरुलाई प्रयाप्त मात्रमा स्थानीय स्तरमा उत्पादित खाद्यान्न खुवाउनको लागि उत्पादन बढाउनुपर्ने देखिन्छ ।’
गण्डकी प्रदेशमा स्थानीय जातका अन्नबाली बढाउनुपर्ने देखिएको छ । ‘खाद्यान्न बाली, तरकारी, फलफुल खेती गर्दै उत्पादनमा जोडदिनुपर्ने अवस्था देखिएको छ । दुध उत्पादनमा पनि गण्डकी प्रदेशले विशेष जोडदिनुपर्छ’ डा प्रसाईले भने । उत्पादन बढाउनको लागि सामुहिकताको खेतीलाई विस्तार गर्नुपर्ने र भुमिको विकास गर्दै व्यवसायीक खेती गर्नु अहिलेको अपरिहार्य देखिएको प्रसाईको भनाई छ ।
गण्डकी प्रदेश सरकारले दुग्ध व्यवसाय, सुन्तला बगैचा स्थापना, तरकारी खेती, कुखुरापालन, बाख्रापालन, स्याउँ खेती, नमुना कृषि गाउँ, कृषि पर्यटन केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिरहेको सचिव प्रसाईको भनाई छ । उनले स्थानीय जातको अन्नबालीलाई व्यवसायीक गराएर आत्मनिर्भर बनाउने तर्फ प्रदेश लागि परेको बताए ।
आत्मनिर्भर बनाउनको लागि कृषि उत्पादन मात्र भएर नहुने बताउँदै प्रशोधन उद्योगहरुको स्थापना गरिनुपर्नेमा सचिव प्रसाईले जोड दिए । ‘कृषि उत्पादन मात्र हुँदैन प्रशोधन उद्योग आवश्यक पर्छ,’ उनले भने,‘त्यसको लागि कोलस्टोर निर्माण, दुग्ध चिस्यान, संकलन केन्द्रहरु र पशु र कृषि विमा कार्यक्रमलाई जोड दिनु आवश्यक छ ।’ स्थानीय खाद्यान्न विकासको लागि सिचाईको आवश्यकता रहेको बताउँदै सिचाई कार्यक्रमलाई सँगसँगै लैजानुपर्ने प्रसाईको भनाइ छ ।
बैज्ञानिक प्रविधिको प्रयोग गरेर स्थानीय जातका कृषि बालीलाई प्रमोशन र स्थानीय जातका पशुहरुको संरक्षण गरिनुपर्ने प्रसाईले बताए । ‘विज्ञानमा आधारित प्रविधिलाई प्रबद्र्धन गर्दै स्थानीय जातका कृषि बालीलाई प्रमोशन गर्दै, हामीसँग भएका स्थानीय जातका पशुहरुको संरक्षण गर्नुपर्छ,’ उनले भने,‘बैज्ञानिक ढंगले व्यवस्थापन गर्दै उत्पादकत्व बढाउन कृषि मन्त्रालयल अगाडी बढी रहेको छ । स्थानीय गाईहरुको संरक्षणको लागि गौशाललाहरुको कार्यक्रम संचालन गरिरहेको छ ।’
उनले बाँझो जग्गालाई कृषि भुमि योग्य जमिन बनाउने बारेमा गण्डकी प्रदेश सरकार चिन्तीत रहेको बताए । ‘बाँझो जग्गालाई कृषि भुमि योग्य जमिन कसरी बनाउने भनेर गण्डकी प्रदेश सरकार चिन्तीत रहेको छ,’ उनले भने,‘मुल्यलाई स्थिरता ल्याउने, रोगहरुको प्रकोपलाई उन्मुलन गर्नको लागि खोप कार्यक्रमहरु अगाडी बढाएको छ । जलबायु परिवर्तन अनुकुल हुनेगरी प्रदेशले कृषिका कार्यक्रम बढाइरहेको छ ।’
सम्मेलनमा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जमिनलाई बाँझो नराख्न सुझाव दिए । उनले जे गर्दा पनि जमिनबाट उत्पादन हुने बताउँदै बाँझो जमिनलाई कृषि भुमिको रुपमा प्रयोग गरेर उत्पादन बढाउनुपर्ने बताए । सभापति शर्माले सुविधाको खोजीमा नेपाली युवाहरु विदेशीरहेको बताउँदै संस्कार सुधारेर देश विकासमा लाग्नुपर्ने बताए ।
उनले सुविधा मान्छेले खोज्ने दोस्रो कुरा रहेको बताउँदै पहिले आनन्द र किर्तन खोज्ने बताए । उनले धर्म नीतिको कुरा भएको बताउँदै पालना गर्नुपर्ने बताए । ‘धर्म नीतिको कुरा हो । पालना गर्ने कुरा हो,’ सभापति शर्माले भने,‘पालना गरेमा धर्म हुन्छ । पालना नगरमो धर्म हुँदैन । धर्म स्वतन्त्र हुन्छ ।’ उनले नेपाली बैद्धिक सनातन धार्मिक स्वतन्त्रताका पक्षपाती रहेको बताए ।
स्वामी मुक्तिनाथ बाबा मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यले माटोको पहिचान गरेर उत्पादन गरेमा नेपालीहरु खाद्यान्नको लागि परनिर्भरता बन्न नपर्ने बताए । ‘भारतबाट सागसब्जीहरु नआउने होभने हाम्रो उपाय लाग्दैन,’ उनले भने,‘परनिर्भरतामा हामी परआश्रित भएर बाच्नुपरेको छ । विभिन्न ठाउँको माटोको पहिचान गरेर उत्पादन गर्ने हो भने हामी परनिर्भरता बन्न पर्ने थिएन ।’
उनले गौशाला संरक्षणमा आफुहरुले काम गरिरहेको बताए । उनले बागलुङ र पर्वतमा दुई वटा गौशाला संचालन गरेर अहिले एक सय बढी स्थानीय प्रजातिका गाईहरु पालन गरिरहेको बताए । ‘पञ्चकोटको गौशाला छ । त्यहाँ ५० वटा लोकल गाई रहेका छन् । गौशाला संरक्षणको लागि हाम्रो अभियान छ,’ उनले भने,‘स्थानीय जातका गाईहरु लोपन्मुख भएका छन् । त्यसैले हामीले गौशाला संचालन गरिरहेका छौं । हामीले बागलुङ र पर्वतमा दुई वटा गौशाला संचालन गरेका छौं । त्यहाँ १०० वटा गाईहरु रहेका छन् ।’
धार्मिक यज्ञमा विभिन्न राष्ट्रिय विकासका सम्मेलनहरु पहिलो पटक भएको उनको भनाई छ । यो पहिलो अभ्यास हो । हामीले यज्ञ मार्फत देश विकासको साथै विभिन्न विषयहरुमा दैनिक सम्मेलन गरिरहेका छौं । मंगलबार सम्पन्न आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलनमा गण्डकी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्रालयका बरिष्ठ कृषि अर्थ विज्ञ भानुभक्त भट्टराई, बागलुङ, पर्वत र म्याग्दीका कृषि र पशु कार्यालयका कृषि तथा पशुपंक्षी विज्ञहरुको साथै कृषकहरुको उपस्थिति रहेको थियो ।









