लखन कपः उपाधिको लागि आज प्रतिस्पर्धा हुने

बागलुङ, १५ फागुन । तेस्रो लखन कप विविध खेलकुद तथा सांस्कृति कार्यक्रम २०८० मंगलबार सकिदैछ । मंगलबार उपाधिका लागि खेल हुनेछ । महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल मंगलबार बिहान हुने भएको हो ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङको आयोजनामा ४२ औं मगर दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उक्त गण्डकी प्रदेश खुल्ला वडास्तरीय पुरुष भबिल र अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिताको फाईनल खेल सञ्चालन हुने भलिबल संयोजक किशोर थापाले बताए । उपाधिका लागि नरेठाँटी बजार एरिया गलकोट र होटल रोयल बिजी बागलुङ गेष्ट हाउस काठमाडौंको बीचमा प्रतिस्पर्धा हुनेछ ।

नरेठाँटीले तंग्रामलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नरेठाँटीले पहिलो सेट २५–९ र दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान पक्का गर्यो ।

दोस्रो सेमिफाइनल खेलमा रोयल बिजी बागलुङ गेष्ट हाउस काठमाडौंले रुस्दी युवा क्लब गलकोटलाई २—१ सेटले पराजित गर्न सफल भयो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको रोयल बिजीले दोस्रो सेट ११–२५ ले हार्न पुगेको थियो ।

तेस्रो सेटमा सुरुवातदेखि अग्रता लिएको रोयल विजीले २५–२३ ले आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गरेको हो । तेस्रो सेट २४–२३ को अवस्थामा रोयलका खेलाडीको स्पाइकलाई रेफ्रिले आउट दिएपछि केहीबेर विवाद भएको थियो । बल इन रहेको भन्दै रोयल विजीका खेलाडीले विरोध जनाएपछि रेफ्रि किशोर छन्त्यालले उक्त अंकलाई रि दिएका थिए । त्यसपछि पुनः रुस्दीका खेलाडीले रेफ्रिको पहिलेको निर्णयलाई निरन्तरता दिनुपर्ने र रि गर्न नहुने भन्दै विरोध गरेका थिए । पछि उक्त निर्णयलाई रेफ्रि छन्त्यालले रि दिँदै २४–२३ कै अवस्थामा खेल पुनः सूचारु गरेका थिए ।

यस्तै महिला भलिबलको उपाधिका जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ । जैमिनी नगरपालिकाले एडु जोन धौलागिरि गाउँपालिका म्याग्दीलाई २—१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । पहिलो सेट २५—२२ ले गुमाएको अवस्थाबाट पुनरागमन गर्दै जैमिनी दोस्रो र तेस्रो सेट जितेर फाईनल स्थान पक्का गरेको हो ।

यस्तै ताखोला गाउँपालिकाले काठेखोलालाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । महिला तर्फको फाईनल खेल मंगलबार बिहान साढे ७ बजे सुरु हुने संयोजक छन्त्यालले बताए ।

मगर दिवसको अवसरमा पुरुष भलिवल सहित गण्डकी प्रदेश पालिका स्तरीय महिला भलिवल प्रतियोगिता, मगर समुदायका लागि मात्र सामुहिक नृत्य, ४० बर्ष माथिका मगर समुदायका लागि मात्र खुल्ला नृत्य, मगर समुदायका लागि मात्र पुरुष छेलो फाल्ने, महिला छेलो फाल्ने र रस्साकस्सी प्रतियोगिता आयोजना गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here