बागलुङ, १४ फागुन । ६ महिना यता दुध भुक्तानी नपाएपछि कृषकले आन्दोलन सुरु गरेका छन् । केन्द्रिय दूग्ध सहकारी संघ लिमिटेड नेपालले सरकासँग भएको पूर्वसहमती कार्यान्वयन नभएपछि क्रमबद्ध रुपमा आन्दोलन सुरु गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघ बागलुङले सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले सरकारले दुग्ध उत्पादक किसानको समस्या समाधान नगरेको बताए ।
अध्यक्ष गौतमले ९ बुँदे ज्ञापन पत्र बुझाएका छन् । गौतमले दूग्ध किसानहरुको सरकारी स्वामित्वमा रहेको डि.डि.सी. लगायतका अन्य डेरी उद्योगीहरुले विगत ५ महिना अघिदेखि रहेको ६ अर्व भन्दा बढीको भुक्तानी बक्यौता यथाशिघ्र भुक्तानी गरिनुपर्ने, हाल किसानले भोगिराखेको मिल्क होलि डे तुरुन्त रोकिनुपर्ने, अनियमित आयातित दूग्धजन्य पदार्थहरुलाई पूर्ण बन्द गराई स्टक रहेका दूग्धजन्य पदार्थ नेपाल सरकारको कुटनीतिक पहलद्वारा अन्तराष्ट्रिय बजार अविलम्ब विक्री गर्ने व्यवस्था गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरेका छन् । यस्तै दूग्ध किसानहरुलाई यस पेशामा जोगाइ राख्न कृषि कर्जामा अनुदान कार्यक्रम विगतका वर्षहरुमा झै यथाशिघ्र उपलब्ध गराईनुपर्ने, लगत मूलय घटाउने कार्यक्रमहरु विगतमा दिइदै आएको दूध लिटर अनुदान कम्तीमा रु. ५ सवै प्रदेशमा सवै किसानले पाउने गरि लागु गर्ने र पशु आहारा, पशु औषधी लगायत पशुपालनसँग सम्बन्धित वस्तुका मूल्य राज्यले अविलम्ब नियन्त्रण गरिनुपर्ने, बिमा कार्यक्रमलाई प्राथमिकतामा राखी बिमाको रकम उपलध गरि विगतका बिमा रकम भुक्तानी सहज बनाइनुपर्ने माग राखिएको छ ।
ज्ञापनपत्रमा नियमित दूगध जन्य पदार्थहरुमा अनुदानको व्यवस्था अविलम्ब गरिनुपर्ने, दूध तथा दूग्ध पदार्थ निर्यातको लागि खोरेत लगायत रोग मुक्त घोषण गरिनुपर्ने, विागतको वर्षहरुमा दूध चिस्यान केन्द्रहरुलाई प्रदान गर्दै आएको विद्युत महशुलमा ५० प्रतिशत अनुदान रकम गत वर्षबाट कटौती गरिएकोले उक्त अनुदानलाई निरन्तरता दिइनुपर्ने उल्लेख गरिएको छ । अध्यक्ष गौतमले किसानहरुको मागलाई सरकारले वेवास्ता गरेमा पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमलाई सशक्त बनाइने बताए ।
ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले ज्ञापनपत्रलाई मन्त्रालयमा पठाउने बताउनुभयो ।