
बागलुङ, २५ माघ । बागलुङको गलकोट नगरपालिका–९ बडागाउँका २४ वर्षीय नविन जैसीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालयले एक युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङ बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले बुधबार विहान मृत्त फेला परेका नविनको हत्या आरोपमा गुल्मी मुसीकोट नगरपालिका–१ घरभई बागलुङको गलकोट नगरपालिका–९ गल्याङमा रहेको रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय राजु भन्ने तेजेन्द्र महतलाई बिहिबार पक्राउ गरिएको बताए ।
डिएसपि केसीले मंगलबार राती मादक पदार्थ सेवन पश्चात झगडा हुँदा नविनलाई भिरबाट धकेलेर तेजेन्द्रले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको बताए । तेजेन्द्रलाई प्रहरीले बडागाउँ स्थित मध्यपहाडी लोकमार्गबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका महतलाई बिहिबार बागलुङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपि केसीले बताए ।
मंगलबार घरबाट निस्किएका नविन बुधबार विहान गलकोट–९ को लोकमार्ग सडक छेउको नालीमा मृत्त फेला परेका थिए । स्थानीयहरुले शब फेला परेको जानकारी दिएपछि प्रहरीले घटनास्थल पुगेर बुधबारदेखि नै अनुसन्धान सुरु गरेको थियो ।







