प्रेस चौतारी कप फुटबल प्रतियोगिता सुरु

बागलुङ, १९ माघ । बागलुङमा आज (शुक्रबार)देखि ‘प्रेस चौतारी कप–२०८०’ अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन समुह चरणका खेलहरु सम्पन्न भएका छन् । समुह चरणमा चिल्ड्रेन लाईफ बोर्डिङ्ग स्कुल, फ्युचर ब्राइटर बोर्डिङ्ग स्कुल, आदर्श विद्यामन्दिर मावि र रुद्रेपिपल माध्यमिक विद्यालयले जित हात पारेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा चिल्ड्रेन लाईफले विद्यामिन्दर माध्यमिक विद्यालयलाई ३–२ गोलअन्तरले पराजित गर्यो । चिल्ड्रेन लाईफको लागि खेलको १८औं मिनेटमा सुशिल थापाले गोल गरेका थिएभने २४ औं मिनेट र ४० औं मिनेटमा बरदान थापाले गोल गरेका थिए । विद्यामन्दिरले खेलको अन्त तिर लगातार दुई गोल गरेपनि जितको लागि प्रयाप्त हुन सकेन् । विद्यामन्दिरको लागि २४ औं मिनेटमै सोम बहादुर घर्ती र २५ औं मिनेटमा सिसन क्षेत्रीले गरेका गरेका थिए ।

यस्तै आजको दोस्रो खेलमा फ्युचर ब्राइटर बोर्डिङ्ग स्कुलले भिमसेन माध्यमिक विद्यालयलाई ४–० गोलअन्तरले पराजित गरेको छ । फ्युचरको लागि विश्व कार्कीले दुई र नितेश जिसी र रोशन सुनारले १–१ गोल गरेका थिए । नेपालीले खेलको १३ औं र ४० औं मिनेटमा गोल गरेका थिएभने जिसीले २८ औं र सुनारले ५० औं मिनेटमा गोल गरेका थिए ।

यस्तै तेस्रो खेलमा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले न्यू ओयसिस एकेडेमीलाई २–१ गोलअन्तरले पारजित गरेको छ । आदर्शको लागि खेलको ४ औं मिनेटमा विश्व रोका र ३१ औे मिनेटमा अविशेक सापकोटाले गोल गरेका थिए । न्यू ओयसिसका लागि खेलको ४० औं मिनेटमा सुसिम जिसीले गरेका थिए ।

चौथो खेलमा रुद्रेपिपल माध्यमिक विद्यालयले गुराँस विद्यासदनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आयुस पौडेलले ३१ औं मिनेटमा गोल गर्दै रुद्रेपिपललाई अग्रता दिलाएका थिए । रुद्रेपिपलको लागि खेलको ४२ औं मिनेटमा नारायण पौडेलले अग्रतालाई दोब्बर पारे । गुराँसको लागि एक मात्र गोल खेलका ५० औं मिनेटमा सिर्जन शर्माले गरेका थिए ।

प्रतियोगिता अन्तरगत शनिबार क्वाटरफाइनलका खेलहरु हुनेछन् । शनिबारको पहिलो खेल चिल्ड्रेन लाईफ बोर्डिङ्ग स्कुल विरुद्ध रेश नुनथला माध्यमिक विद्यालय विच हुनेछभने दोस्रो खेल फ्युचर ब्राइटर बोर्डिङ्ग स्कुल विरुद्ध सिगाना माध्यमिक विद्यालय, तेस्रो खेल आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय विरुद्ध मुलपानी माध्यमिक विद्यालय र अन्तिम खेल रुद्रेपिपल माध्यमिक विद्यलाय विरुद्ध अमर आदर्श माध्यमिक विद्यालय विच हुनेछ प्रेस चौतारी बागलुङका सचिव अर्जुन कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगिता प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आयोजना गरेको हो । उक्त प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछभने उपबिजेताले २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै सर्वोत्कृष्ट खेलाडी सहित विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने प्रेस चौतारी नेपाल बागलुङकी अध्यक्ष सिर्जना पन्तले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल र प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको मुल समारोह माघ २२ गते हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here