पत्रकार कुट्ने प्रहरीलाई कारवाहीको माग गर्दै प्रशासनमा धर्ना

बागलुङ, ३ माघ । पत्रकारमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै बुधबार बागलुङका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय राना माथि भएको कुटपिटको घटनाको सत्यतथ्य बाहिर ल्याउन र पत्रकार माथि कुट्पिट गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै प्रशासन अघि शान्तिपूर्ण धर्ना बसेको महासंघका सहसचिव तारानाथ आचार्यले बताए । उनले प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गरिनुपर्ने पत्रकारहरुको माग रहेको बताए ।

गतसाता बागलुङ महोत्सवमा भएको झगडाको क्रममा प्रहरीले नागरिकमाथि कुटपिट गरेको थियो । उक्त घटनाको फोटो भिडियो खिच्ने क्रममा पत्रकार रानाको मोबाइल खोसेर प्रहरीले लाठी प्रहार गरेको थियो । घाईते रानाको हातको हड्डी चर्केको छभने खुट्टामा निलडामहरु छन् । रानाले धौलागिरी अस्प्तालमा उपचारपछि घर फर्केका छन् ।

सहसचिव आचार्यले घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला सुरक्षा समितिले गठन गरेको छानविन समितिले म्याद सकिँदा पनि प्रतिवेदन नल्याएपछि बुधबारदेखि शान्तिपूर्ण आन्दोलनको सुरुवात गरिएको बताए । उनले तत्काल प्रतिवेदन आएर दोषीलाई कारवाही नभएमा चरणबद्ध आन्दोलन गर्ने जानकारी दिए ।

पत्रकार महासंघले छानविन समितिले प्रतिवेदन नल्याउँदा र दोषिलाई कारवाही नहुँदा सम्म जिल्ला प्रशासन कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङको सहभागिता रहने कार्यक्रम बहिस्कार गर्ने निर्णय समेत गरेको छ ।

पीडितले राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी गरेका छन् । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने छिट्टै प्रतिवेदन आउने र त्यसबाट दोषी देखिएकालाई कारवाही हुने बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here