
बागलुङ, १६ पुष । त्रिभुवन आर्मी क्लब बुकी कप भलिबलमा च्याम्पियन बनेको छ । विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकाल्दै आर्मी विजयी भएको हो । पुलिसलाई ३–२ प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
बागलुङको गल्कोट नगरपालिका ६ मजुवाफाँटमा सोमबार भएको फाइनलको पहिलो सेटमा आर्मीले २७–२५ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो । त्यसपछि आर्मीले दुवै सेट २२–२५ र २१–२५ ले गुमाउन पुग्यो ।
चौथो सेटमा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै २७–२५ को पुनरागमन जित निकाल्दै खेललाई पाँचौ सेटमा लम्ब्याए । आर्मी २२–२४ ले पछि रहेपनि त्यसपछि लगातार दुई अंक जोड्दै खेललाई २४–२४ को बराबरीमा ल्याउन सफल भएको थियो । त्यसपछि एक अंक जोड्दै पुलिस च्याम्पियन नजिक पुगेपनि आर्मीले लगातार तीन अंक जोड्दै खेल आफ्नो पक्षमा पार्यो ।
चौथो सेटमै जित नजिक पुगेपनि सेट गुमाएको पुलिसले पाँचौ सेटमा भने फितलो प्रदर्शन गर्यो । अर्काेतर्फ आर्मीले उच्च मनोबलका साथ खेल्दै सेटलाई आफ्नो पक्षमा पार्न सफल भयो ।
पाँचौं सेटमा ४–४ को बराबरीबाट लगातार ४ अंक जोड्दै आर्मीले ८–४ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । त्यसपछि ११–६ को स्थितिबाट आर्मीले लगातार ५ अंक जोड्दै आर्मी च्याम्पियन बन्न सफल भयो । यससँगै आर्मीले लिग चरणमा भोगेको हारको बदला लिन सफल भएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशलाई हराउँदै एपिएफ क्लब तेस्रो भएको छ । उपाधिसँगै आर्मीले ५ लाख,पुलिसले २ लाख ५० हजार र एपिएफले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिको आयोजनामा पुस ८ गते सुरु भएको प्रतियोगितामा तीन विभागसँगै गण्डकी प्रदेश र गल्कोट नगरपालिकाको सहभागिता थियो ।









