
बागलुङ, ११ पुष । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ आउँदै छन् । आज (बुधबार)देखि सुरु हुन लागेको सातौं बागलुङ महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ आउन लागेका हुन् ।
राष्ट्रपति पौडेलले महोत्सवको उद्घाटन सहित बागलुङका धार्मिकस्थलहरुको समेत अवलोकन गर्ने महोत्सवको आयोजक बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ ।
राष्ट्रपति पौडेलले बिहान १०ः३० बजे प्रसिद्ध शक्तिपीठ बागलु कालिका मन्दिरमा पुजा अर्चना गर्नेे कार्यक्रम छ । संघका अनुसार राष्ट्रपति पौडेलले बिहान ११ बजे शालिग्राम संग्रहालयको दर्शन गर्नेछन् । त्यसपछि दिउँसो १ बजे महोत्सवको उद्घाटन गर्ने संघले जनाएको छ ।
संघको आयोजनामा आजदेखि पुस २२ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।









