राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि भिमसेन माविलाई

बागलुङ, ८ पुस । बागलुङको काठेखोला गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ६ विहुँको भिमसेन माध्यमिक विद्यालयले जितेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण र १० रजत पदक जित्दै भिमसेन माविले उपाधि चुमेको हो ।

यस्तै ९ स्वर्ण र ८ रजत पदक जित्दै वडा नम्बर ७ रेशको रेश नुनथला माध्यमिक विद्यालय द्वितीय र ७ स्वर्ण र ११ रजत जित्दै वडा नम्बर ५ विहुँकोटको अमर माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेका छन् । यस्तै ७ स्वर्ण र १ रजत पदक जितेको वडा नम्बर २ भीमापोखराको जनकल्याण माध्यमिक विद्यालयले चौथो स्थान हासिल गर्यो ।

प्रतियोगितामा वडा नम्बर ५ को लालिगुराँस इङ्लिस बोर्डिङ्ग स्कुलले ५ स्वर्ण र २ रजत, वडा नम्बर ४ तंग्रामको धारा माध्यमिक विद्यालयले २ स्वर्ण र २ रजत, वडा नम्बर ३ धम्जाको लक्ष्मी माध्यमिक विद्यालयले १ स्वर्ण र ३ रजत र वडा नम्बर ८ लेखानीको लेखानी माध्यमिक विद्यालयले १ स्वर्ण र २ रजत पदक जितेका छन् ।

प्रतियोगिता अन्तरगत छात्र भलिबल वडा नम्बर ६ विहुँकोटको भिमसेन मावि प्रथम र वडा नम्बर २ भीमापोखराको जनकल्याण माध्यमिक विद्यालय द्वितीय भएका छन् । यस्तै छात्रा भलिबल तर्फ वडा नम्बर ३ धम्जाको लक्ष्मी माध्यमिक विद्यालय प्रथम र वडा नम्बर ४ तंग्रामको नारायणी माध्यमिक विद्यालय द्वितीय भएका छन् । कबड्डी तर्फ छात्रामा भिमसेन माध्यमिक विद्यालय प्रथम र नारायणी माध्यमिक विद्यालय द्वितीय भए ।

प्रतियोगिताको विजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेज बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिकासंगम विक लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन शुक्रबार भएको थियो । प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष राजु थापाले गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष थापाले खेलकुदले विद्यार्थीहरुलाई शारीरिक कसरत सहित अनुशासन सिकाउने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई अध्ययनका साथसाथै खेलकुदमा लगाउँदा उनीहरुमा आत्मियता र प्रतिस्पर्धाको भावना सिर्जना गर्ने बताउनुभयो । अध्यक्ष थापाले राष्ट्रपति रनिङ्ग शिल्डले विद्यार्थी सहित विद्यालयहरु विच पनि आत्मियताको विकास हुनेमा जोड दिनुभएको थियो ।

उद्घाटन कार्यक्रममा उपाध्यक्ष तेज बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडा नम्बर ५ का वडाअध्यक्ष ज्ञामनाथ कंडेल र अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक भिष्म कंडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिकासंगम विकको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको संचालन सहायक प्रशासकीय अधिकृत मनोज कार्कीले गर्नुभएको थियो । रनिङ्ग शिल्डमा छात्रा/छात्रा भलिबल, कबड्डी प्रतियोगिता, एथलेटिक्स तर्फ छात्र/छात्रा दौड, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभ्लिङथ्रो र सटफुट प्रतियोगगितामा गरि ४३ स्वर्ण पदकको लागि विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here