
बागलुङ, २४ मंसिर । बागलुङ नगरपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अमर आदर्शले जितेको छ ।
आईतबार सम्पन्न प्रतियोगितामा १४ स्वर्ण सहित २७ पदक जित्दै अमर आदर्श आवासिय माध्यमिक विद्यालयले उपाधि चुमेको हो । अमर आदर्शले ९ रजत र ४ काश्य पदक जित्यो ।
यस्तै ९ स्वर्ण, ७ रजत र १ काश्य पदक सहित १७ पदक जित्दै गणेश माध्यमिक विद्यालय दोस्रो र ८ स्वर्ण, ११ रजत र १६ काश्य पदक सहित ३५ पदक जितेको चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल तेस्रो भएका छन् । साविक विजेता सनराईज माध्यमिक विद्यालयले ८ स्वर्ण, १ रजत र ९ काश्य सहित १८ पदकमा चित्त बुझायो ।
प्रतियोगिता अन्तरगत छात्र भलिबल धवालगिरि बिरेन्द्र माध्यमिक विद्यालय र छात्रा भलिबल विद्यामिन्दर माविले जितेको छ । फाइनल खेलमा धवलागिरि बिरेन्द्रले महाविद्याजन माविलाई २५–१७ र २५–१ को सोझो सेटमा पराजित गरेको थियो । यस्तै छात्रा तर्फ विद्यामन्दिरले धवलागिरि बिरेन्द्र माविलाई २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गरेको थियो ।
कबड्डी तर्फ छात्रको खेलमा युएस एकेडेमीले स्वर्ण, बिद्यामन्दिर माबिले रजत र न्यू ओएसिस माबिले कास्य पदक जिते । त्यस्तै छात्रा तर्फको कबड्डीमा अमर आदर्शले स्वर्ण, चिल्ड्रेन लाइफले रजत र युएस एकेडेमीले कास्य पदक जितेका छन् ।
विजेता अमर आदर्श आवासिय माविलाई ४० हजार रुपैयाँ र उपविजेता गणेश माविलाई २० हजार रुपैयाँ प्रदान गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले जानकारी दिनुभयो । प्रतियोगितामा ३७ विद्यालयले सहभागिता जनाएको नगरशिक्षा शाखाले जनाएको छ ।
तीन दिन सम्म चलेको प्रतियोगितामा ७० इभेन्टमा ६६ स्वर्ण, ६६ रजत र ७५ काश्य गरी २०७ पदकको लागि १ हजार ५ सय विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको नगर शिक्षा अधिकारी पोख्रेलले बताउनुभयो ।
नगरपालिका स्तरीय प्रतियोगिताको विभिन्न खेलमा सहभागी विद्यार्थीबाट उत्कृष्ट खेलाडी छनोट गरेर जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराईने छ ।










