बागलुङ, २१ मंसिर । बागलुङमा लागुऔषध सहित दुई युवा पक्राउ परेका छन् ।
बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी कुर्लिमारेका २४ वर्षीय नारायण पुन मगर र २१ वर्षीय हिमाल थापा क्षेत्रीलाई ९० एम्पुल लागुऔषध सहित बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले बताए । उनीहरुको साथबाट डायजेपाम इन्जेक्सन आई.पी. ३० एम्पुल, नोर्फिन ३० एम्पुल र फेनार्गन ३० एम्पुल लागुऔषध र १४ थान लाइफलाइन लेखिएको सिरिन्ज बरामद गरिएको डिएसपि केसीले बताए ।
प्रहरी चौकी विहुँबाट खटिएको टोलीले मगर र क्षेत्रीलाई कुर्लिमारे डाँडाको चौतारीमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा मगरको साथमा रहेको छालाको जस्तो देखिने कालो साईड ब्याज भित्र रातो प्लाष्टिकमा लागुऔषध राखिएको फेला पारेको प्रहरीले बताएको छ ।
पक्राउ परेका दुवै जनालाई बिहिवार बागलुङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपि केसीले बताए ।