बागलुङ, १ असोज । बागलुङमा जारी अन्तर माध्यमिक विद्यालय (+१०)स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा न्यू ओयसिस एकेडेमी प्रवेश गरेको छ ।
सोमबार विहान भएको दोस्रो सेमिफाइनल खेलमा न्यू ओयसिसले गरिमा माविलाई टाईब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित ५० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेकोको थियो । टाईब्रेकरमा न्यू ओयसिस एकेडेमीको लागि मनिष खत्री, सिजन पुन मगर, मिजन खत्री र प्रशान्त थापाले गोल गरेभने गरिमा माविको लागि अप्सन गौतम, सविन थापा र पेमिन थापाले गोल गरेका थिए ।
उपाधिको लागि न्यू ओयसिस एकेडेमीले आज (सोमबार) चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा गर्ने छ । आईतबार भएको पहिलो सेमिफाइनल खेलमा चिल्ड्रेन लाईफले आदर्श विद्यामन्दिर बोर्डिङलाई ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
फाइनल खेल आज (सोमबार) दिउँसो ३ बजे बाङ्गेचौर खेलमैदानमा हुने जिल्ला फुटबल संघ बागलुङका महासचिव रेशम गोतामेले जानकारी दिनुभयो । जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको प्रतियोगितामा १४ विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता टिमले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिनुभयो ।