बागलुङ नगरका जनप्रतिनिधिको सय दिनको उपलब्धी सार्वजनिक

बागलुङ, १२ भदौ । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले पदभार ग्रहण गरेको सय दिन आईतबार पुरा भएको छ । १०० दिन पुगेको अवसरमा नगरप्रमुख श्रेष्ठ र उपप्रमुख खड्काले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी उपलब्धीहरु सार्वजनिक गरेका हुन् ।

नगरपालिकाका नगरप्रमुख श्रेष्ठले पत्रकार सम्मेलनमा ३१ वटा उपलब्धीहरु सार्वजनिक गर्नुभएको हो । उहाँले हालसम्म ८ वटा कार्यपालिकाको बैठक बसी नगरपालिका र नगरबासीका हितका विषयमा ६४ वटा निर्णयहरु गरिएको बताउनुभयो । यस्तै कानुन बमोजिम नगरपालिकाले १० लाख सम्मका योजना तथा कार्यक्रमको अनुगमन वडास्तरीय अनुगमन समितिबाट अन्तिम अनुगमन गरी भुक्तामनी हुने गरी वडा तहलाई जिम्मेबार बनाइएको र १० लाख माथिका योजना नगरस्तरीय योजना अनुगमन तथा सुपरीवेक्षण समितिबाट अनुगमन सुपरिवेक्षण गरिने व्यवस्था मिलाई चरणबद्ध योजना अनुगमनको व्यवस्था मिलाइएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले नगरको बास्तविक अवस्थाको चित्रण सहितको ३८ बुदे श्वेतपत्र सार्वजनिक र नगरप्रमुखसँग प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसँग शाखा प्रमुखहरुले उपलब्धी सुचक सहितको कार्यसम्पादन सम्झौता गरी कार्य सम्पादन गर्ने पद्धतीको शुरुवात गरेकोलाई उपलब्धीमा समावेश गर्नुभएको छ । उहाँले नगरपालिकाको बजार क्षेत्रदेखि टाढा रहेका वडा नं. ५ देखि १४ सम्मका वडाहरुमा वडा तहमै सेवा प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको घुम्ती शिविरको पहिलो चरणका वडा नं. ११ र १० र दोस्रो चरणका वडा नं. १२, १३ र १४ मा ९३ वटा योजना सम्झौता, १६७ जना व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण, ८६९ जनाको सामान्य स्वास्थ्य परिक्षण, २७८ जनामा कोभिड–१९ परिक्षण, २३ जनामा यौनरोग परिक्षण, ३५१ जनाको आँखा परिक्षण, १२ जनामा मलेरिया परिक्षण र ११ वटा टोल विकास संस्था गठन गरिएको बताउनुभयो ।

नगरपालिकाले बानपा–१ को मालढुङ्गादेखि गणेशथान घुम्तीसम्म् सोलार बत्ति जडान गरिएको, बजार क्षेत्रको पार्किङ्ग व्यवस्थापन, सडक एवं चोक सुधार, अव्यवस्थित तार व्यवस्थापन जस्ता समस्या समाधान गर्न सरोकारवालाहरुसँग समन्वयात्मक बैठक गरि समाधानको पहल गरिएको, एसियाली विकास बैंक मार्फत पुरानो अदालत चौपारीदेखि तित्याङ, भकुण्डे, काप्रे सडकको २४ कि.मी मध्ये १५ कि.मी. यसै वर्ष स्तरोन्नती सहित कालोपत्रे गर्ने गरी समन्वय गरिएको र बालमैत्री नगर घोषणाको लागि १४ वटै वडामा वडास्तरीय बाल क्लब सञ्जाल, नगरस्तरीय बाल क्लब सञ्जाल र वडा नं. १०, ११, १२, १३ र १४ को बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको उपलब्धीमा समावेश गरेको छ । नगरपालिकाले कार्यसम्पादनको लागि आवश्यक पर्ने ऐन कानुनहरु तर्जुमा तथा संशोधनको क्रममा २ वटा निर्देशिका, २ वटा कार्यविधि गरी जम्मा ४ वटा कानुन निर्माण गरिएको र २ वटा कानुन संशोधन गरिएको नगरप्रमखले उपलब्धीमा समावेश गर्नुभएको छ ।

यस्तै नगरपालिकाले साविकको स्थानीय शान्ति समितिको भवन रहेको स्थानमा बागलुङ नगरपालिकाका दमकल, एम्बुलेन्स र शबबहान सवारी राख्नको लागि ग्यारेज निर्माणको लागि बोलपत्र निश्कासन गरिसकेको जनाएको छ । नगरपालिकाको समन्वय र सहजिकरणमा बानपा–४ उपल्लाचौर देखी पर्वतको नाग्लीवाङ जोड्ने झोलुङ्गे पुल निर्माण कार्य प्रारम्भ भएको, आधुनिक बसपार्क संचालनको लागि कार्यदल गठन गरि कार्य अघि बढाइएको, बाङ्गेचौर खेलमैदानमा व्यवस्थित रंगशाला निर्माण परियोजना अघि बढाउन वातावरणीय प्रभाव मुल्याङ्कन गर्न प्रक्रिया अगाडी बढाइएको र सिगाना स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर स्थापनाको लागि पूर्व तयारी पुरा गरिएको नगरप्रमुखले उपलब्धीमा समावेश गर्नुभएको छ ।

नगरप्रमुख श्रेष्ठले नगरपालिकाको व्यवस्थित कार्यलय भवन व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका पदाधिकारीहरु र विभिन्न निकायसँग औपचारिक अनौपचारिक छलफल र बैठक गरि समस्या समाधानको लागि पहल गरिएको बताउनुभयो । उहाँले समन्वय समितिको भवनको दुई वटा तला नगरपालिकाको लागि दिन र दुई वटा तलामा समन्वय समितिको कार्यालय राख्न समेत आफुहरुले माग गरेपनि अहिलेसम्म समाधान नभएको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here