
शिव बोहोरा “राहुल”
अङ्ग्रेजीहरुले ब्यापार गर्ने नाममा हालको भारतमा आएका थिए । ब्यापार गर्ना आएका अङ्ग्रेजीहरुले भारत मै राज गर्ने थाले । बिस्तारै बिसाल भारत एकीकृत गर्दै थिए अङ्ग्रेजीहरु विभिन्न देशका राजाहरुलाई जितेर बिशाल भारतको निर्माण गर्दै थिए भने यता नेपालमा ग्रेट नेपालीको एकीकृत भैसकेको थियो । पृथ्वीनारायण शाहाले बिशाल नेपालको सपना देख्नु भएको थियो । अङ्ग्रेजीहरुले भारतको सबै ठाउँ आफ्नो कब्जामा परि सकेको थियो । अब उसको नजर हिमालको काखमा रहेको फुल जस्तै मेरो मातृभुमी नेपालमा थियो । नेपाल र अङ्ग्रेजीको युद्ध भयो युद्धमा नेपाली सेनाले आफ्नो विरता देखाए ।
भर्खरै सुदृढ हुँदै गरेको थोरै मात्र जनसंख्या भएको नेपालले तालीम प्राप्त सैन्य नभएपनि बहादुरी पूर्वक लडेको थियो । नेपाली गोर्खालीको बहादुरीका बारेमा अङ्ग्रेज जनरल अक्टरलोनी, जनरल गिलेस्पी, जनरल मार्ले तथा जनरल वुडले धेरै शब्दले प्रशंसा गरेका छन् । यस युद्धमा नेपाल विरुद्ध लडेर भन्दा नेपालसँग सन्धी गरेर बढी फाइदा लिन सकिने देखेर अन्तत अङ्ग्रेजहरूले सन्धिको प्रस्ताव राखे सारै थोरै सैन्य शक्ति र सैन्य संसाधनले लडेको नेपालले सुदुरपश्चिममा बहादुरी पूर्वक लड्दै युद्ध हार्नु परेपनि पाल्पा मकवानपुरमा नेपालले अङ्ग्रेजी सेनालाई हराइदिएको थियो । यो युद्धको समाप्ती सुगौली सन्धि मार्फत भयो । यस युद्धमा नेपालको तर्फबाट लड्ने काजी अमर सिंह थापा, काजी बलभद्र कुंवर, सरदार भक्ति थापा, काजी उजीर सिंह थापा, काजी बंसराज गुरूङ लगायतको वीरताको अङ्ग्रेज सरकारले पनि सम्मान गर्ने गरेको छ ।
यो युद्धको समाप्ती पछि अङ्ग्रेजहरूले बहादुर गोर्खालीलाई आफ्नो सेना (शिरमोर बटालियनबाट शुरू भएको)मा लाहोरदेखि शुरू गरे जसले गर्दा नेपाली समाजमा लाहुरे शब्दले प्रवेश पायो । उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो विशाल नेपालको इलाका जसमा पश्चिम क्षेत्रमा हालको भारतको उत्तराखण्ड, हिमाचल प्रदेश तथा पञ्जाबका पर्ने केही साना पहाडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङ, देखि लिएर टिष्टा नदी सम्मको तराइ तथा पहाडी भूभाग ब्रिटिश इस्ट इण्डिया कम्पनी कम्पनी सरकारलाई सुगौली सन्धि अन्तर्गत सुम्पनु पर्यो ।
ईतिहासले भुलाएको एक योद्धा : बाङ्गे सार्की
यो माया हो नेपाल आमाको यो माया आफ्नो प्राण भन्दा प्यारो माटोको, यो कथा हो एउटा देश भक्ति एक नेपालीको, जुन आफ्नो शरीरमा एक थोपा रगत रहुन जेलसम्म आफ्नो देशको लागि लडिरहेको हुन्छ ।
जब राष्ट्रको कुरा आउँछ, जब आफ्नो माटो कुरा आउछन तब एक नेपाललाई आफ्नो प्राण भन्दा आफ्नो राष्ट्र ठूलो लाग्छ ।
देशभक्तिभन्दा ठूलो अरु केही नदेख्ने नेपाली सपुत बाङ्गे सार्की ।
घटना विसं १८६६ तिरको हो, जुनबेला अङ्ग्रेज फौजले नेपाल आक्रमण गर्ने योजना बनाइरहेको थियो । उसबेला भारतको बेतियामा नेपाल जाने बाटो पहिल्याउन नसकेर अङ्ग्रेजहरु त्यही रोकिएका थिए ।
त्यही बेला उनीहरुले भेटे एक नेपाली बाङ्गे सार्कीलाई । अङ्ग्रेज फौजका अफिसरले उनलाई डाकेर नेपाल जाने बाटो आफ्नो फौजलाई देखाइदिए घर, पैसा जे मागे पनि दिने प्रलोभन देखाए ।

तर गरिबीमा जति पिल्सिए पनि देशभक्तिभन्दा ठूलो अरु केही नदेख्ने नेपाली सपुत बाङ्गेले तुरुन्तै जवाफ फर्काए– ‘‘देशको बेइज्जत हुने काम मबाट कदापि हुन सक्दैन, तिम्रा सम्पत्ति मलाई चाहिन्न ।’’
आशा गरेभन्दा बिल्कुलै उल्टो जवाफ उनीबाट आएपछि रिसले चुर भएका अङ्ग्रेज अफिसरले तुरुन्तै बाङ्गेको ज्यान लिन आदेश थिए । उनलाई अङ्ग्रेज फौजले तत्काल त्यही ज्यान लिएका थिए । बाङ्गे उसबेला घरायसी सामान लिन जाने क्रममा नेपालको सिमाना नजिक रहेको भारतको बेतिया सहरमा पुगेका थिए ।
बाङ्गेले देशलाई धोका दिएर बाँच्न चाहेनन्, बरु देशको हितका खातिर मर्नु नै उचित ठाने र बाङ्गेले त्यही प्राणको आहुती दिए । नेपालको सार्वभौमसत्ता र अखण्डताका लागि दलित समुदायबाट जीवनको बलिदानी दिएका बाङ्गेसमेतका यी एकाध प्रतिनिधि पात्रमात्र हुन्, जसकाबारेमा आजसम्म कुनै इतिहासकारले कलम चलाउन सकेका छैनन् ।
विसं २०५३ जेठमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले प्रकाशन गरेको ‘नेपालमा जातीय छुवाछूत’ नामक पुस्तकको पृष्ठ ६२ मा ‘नेपालको राजनीतिमा उत्पीडित जातिको सहभागिता’ शीर्षकको लेखमा बाङ्गेका बारेमा एक अनुच्छेद उल्लेख गरिएको छ । नरनाथ लुइँटेल, माधवपन्थी, पद्मलाल विश्वकर्मा र रविमान लम्जेलले सम्पादन गर्नुभएको सो पुस्तकमा बाङ्गे कुन जिल्लाका थिए भनेर उल्लेख भने गरिएको छैन् । यस पुस्तकका सम्पादक पद्मलाल विश्वकर्माले बाङ्गे तनहुँका भएको बताएका छन् ।
तत्कालीन माओवादी निकट नेपाल दलित मुक्ति मोर्चाको विसं २०६२ पुस २७ देखि माघ १ गतेसम्म भएको तेस्रो राष्ट्रिय सम्मेलनमा प्रस्तुत एवम् पारित राजनीतिक प्रतिवेदनमा पनि एक अनुच्छेद उल्लेख गरिएको छ, तर त्यहाँ पनि उनी नेपालको कुन जिल्लाका थिए भन्ने कुुरा उल्लेख गरिएको छैन् ।
उनी कुन जिल्लाका थिए भन्ने विषयमा दलित आन्दोलनका अगुवा नै स्पष्ट हुन सकेका छैनन् । तत्कालीन माओवादी नेता शङ्कर दुलाल, नेता पर्शुराम रम्तेल, सङ्घीय समाजवादी पार्टी नेपालका उपाध्यक्ष दानबहादुर विश्वकर्मालगायको भनाइमा बाङ्गे गोरखा जिल्लाका थिए ।
दलित आन्दोलनका अगुवा विनोद पहाडी सम्पादक रहेको ‘नेपालीमञ्च’ २०६३ सालको भदौ महिनाको अङ्कको मध्यपृष्ठमा काले सार्की, विसे नगर्ची, जसवीर कामी, मणिराम गाइने र बाङ्गे सार्की समकालीन भएको उल्लेख गरिएको छ । काले सार्की, विसे नगर्ची, जसवीर कामी र मणिराम गाइने गोरखाको भएको र बाङ्गेकै समकालीन भएको हुँदा बाङ्गेको जिल्ला पनि गोरखा नै हुनसक्ने सङ्घीय समाजवादी पार्टी नेपालका उपाध्यक्ष दानबहादुर विश्वकर्माको अनुमान छ ।
बाङ्गेपछि आफू करिब १२÷१३ औँ पुस्ता भएको दाबी गर्ने कञ्चनपुर–१ दैजीका नन्दसिंह सार्कीलाई उनका पुर्खाले भनेअनुसार बाङ्गेको जिल्ला सुदूरपश्चिमको कैलाली भएको जानकारी दिए । उनले भने,–“बेतियामा बाङ्गेलाई अङ्ग्रेजहरुले नेपाल जाने बाटो पटकपटक सोध्दा पनि नबताएपछि उनलाई गिफ्तारपछि कुटपिट गरी मानसिक दबाब दिँदै रुखमा दुईवटा हातमा किल्ला ठोकेर गोलीको निसाना बनाइएको कुरा मलाई बुढापाकाले सुनाउने गर्नुहुन्थ्यो, तर मसँग कुनै लिखित दस्तावेज छैन् ।”
बाङ्गे सार्कीका बारेमा इतिहासविद् डा. त्रिरत्न मानन्धर, तुल्सीराम वैद्य, प्रा दिनेशराज पन्त, डा दिनेशचन्द्र रेग्मीसमक्ष जिज्ञासा राख्दा ‘इतिहासमा कहीँकतै नाम नसुनेको’ जानकारी दिए । विसं १८७१ मा नेपाललाई अङ्ग्रेजले आक्रमण गरेको समयको वरिपरि भएको हुँदा बाङ्गेलाई त्यही समयमामा मारिएको हुनसक्ने अनुमान इतिहासकारहरुको छ ।
दलित समुदायका राष्ट्रप्रेमी व्यक्तित्व बाङ्गेका बारेमा राज्य, सरकार, राजनीतिक दल, तीनका दलित भ्रातृ सङ्गठन, दलित समुदायको अधिकारका लागि लड्ने सरकारी गैरसरकारी सङ्घ/संस्थाले वा दलित अन्दोलनले अहिलेसम्म कुनै खोजीनीति गरेका छैनन् ।
उनको बारेमा पछिल्लो पटक सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रीय कमिटीले उनको खोजीनीति गरी प्रथम राष्ट्रिय वीर सहिद घोषणा गर्नुपर्ने माग गर्र्दै प्रधानमन्त्री, मन्त्री तथा विभिन्न राजनीतिक दललाई ज्ञापनपत्र बुझाइ सकेपनि अझसम्म कुनै सुनुवाइ हुन सकेको छैन् । नेपाली दलित आन्दोलनमा मात्र नभई सिङ्गो नेपालको राष्ट्रियताकै आन्दोलनमा बाङ्गेलाई सम्मान गर्न सकिएन भने नेपालको इतिहास अधुरो रहने छ । यसप्रति राज्य, इतिहासकार, दलित हितसम्बन्धी सङ्घसंस्था, स्वयम् दलित समुदाय र समस्त देशभक्त स्वाभिमानी नेपाली जनता सचेत र सक्रिय हुन जरुरी छ ।










