
सुवास आचार्य
बागलुङ, २७ कार्तिक । बागलुङ बजारमा सञ्चालित मिष्ठान्न भण्डार सञ्चालकलाई उत्पादन, भण्डारण तथा गुणस्तर सुधार गर्न सुझाव दिइएको छ । तिहारका बेला विषेशगरि मिष्ठान्न परिकार बढि बिक्री हुने भएकाले बागलुङ बजारमा संचालित मिष्ठान्न पसलमा अनुगमन गरिएको थियो ।
नियमित बजार अनुगमन गदै आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङको संयोजकत्वमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, घरेलु तथा साना उद्योग कार्यलय, उपभोक्ता मञ्च, पत्रकार लगायतको संयुक्त टोलीले बजारका ११ वटा मिष्ठान्न भण्डारको अनुगमन गरेको थियो ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय बागलुङको संयोजकत्वमा गरिएको अनुगमनको क्रममा केही मिष्ठान्न भण्डारमा सरसफाई नदेखिएकोले सुधार गर्न सुझाव निर्देशन दिईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख केदार पौडेलले जानकारी दिनुभयो ।
बजारमा चाडपर्वको बेलामा गुणस्तरहिन सामान बिक्री गर्ने, उत्पादन गर्दा गुणस्तहिन कच्चापदार्थ प्रयोग गर्ने, म्याद सकेको सामान बिक्री गर्ने तथा मूल्य वृद्धि गर्ने प्रवृत्ति मौलाएको हुनाले तिहारमा मिठाई भण्डारलाई केन्द्रित गरेर अनुगमन गरेको बागलुङ नगरपालिकाका सरस्वती रेग्मीले बताउनुभयो ।
अनुगमन टोलीले मिठाई पलहरूमा सरसफाई समेत नगरेको पाईएकाले सरसफाई गर्न समेत निर्देशन गरिएको छ । दुई दिनभित्र सरसफाई र भान्छा घरको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
यस्तै केही मिष्ठान्न पसल दर्ता विना संचालन भएकोले १ हस्ता भित्र दर्ता गर्न निर्देशन दिईएको छ । मिष्ठान्न पसलहरुमा म्याद नाघेका पियपदार्थ, कुरकुरे लगायतका सामाग्री फेला पारिकाले ती सामाग्री जफत गरि नष्ट गरिएको छ ।
विगतका वर्षमा तिहार नजिकिँदै गर्दा मिष्ठान्न व्यवसायीलाई मिठाई उत्पादन गर्न भ्याईनभ्याई हुन्थ्यो । तर, यो वर्ष कोरोना महामारीले गर्दा व्यवसाय प्रभावित भएको छ । सामान्य अवस्था भन्दा करिब २५ प्रतिशतले तिहारमा मिठाईको व्यापार बढ्ने गर्दछ । तर, कोरोनाले गर्दा यस पटक तिहारमापनि व्यापार नहुने भएपछि व्यापारीहरू चिन्तित बनेका छन् ।
तिहारको माहोलमा पनि मानिसको भिड निकै कम देखिएपछि व्यापार बढ्ने आशा नरहेको मिष्ठान्न व्यवसायी संघ बागलुङका अध्यक्ष टिकाराम सापकोटाले बताउनुभयो ।
तिहारमा लड्डु, पेँडा र वर्फी लालमोहन, रसबरी तथा गुलाब जामुनको व्यापार बढी हुने गर्दछ ।











