एमाले काठेखोलाको घोषणापत्र : ८ वडा ८ पहिचान सहितको प्रतिबद्धता

बागलुङ, ९ बैशाख । स्थानीय निर्वाचनका लागि नेकपा एमाले काठेखोला गाउँपालिका कमिटिले ८ वडा ८ पहिचान सहितको प्रतिबद्धता सार्वजनिक गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा शुक्रवार अक्षेतेमा आयोजित कार्यक्रममा एमालेको प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

८ वटा वडामा ८ विशेष पहिचानसहित समग्र काठेखोलाको विकासका लागि एमालेको योजनाका रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको नेकपा एमाले गण्डकी प्रदेशका सदस्य तथा प्रतिबद्धता पत्र निर्माणका लागि गठित कार्यदलका सदस्य रामबहादुर जिसीले जानकारी दिए ।

एमालेले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको आधार : समृद्ध काठेखोला निर्माणका लागि एमाले नेतृत्वको स्थानीय सरकार भन्ने नाराका साथ आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको हो ।

एमालेले वडा नं. १ लाई कृषि उपज, सहकारी खेती विस्तार विशेष क्षेत्र, वडा नं. २ लाई पशुपालन र तरकारीको विशेष क्षेत्र, वडा नं. ३ लाई आलु पकेट क्षेत्र तथा पर्यटन प्रवद्र्धनको मुख्य क्षेत्र बनाउने उल्लेख गरेको छ ।

वडा नं. ४ लाई जनजाति संग्रहालय तथा पशुपालन विशेष क्षेत्र, वडा नंं. ५ लाई पर्यटन र धार्मिक सांस्कृतिक विशेष क्षेत्र, वडा नं. ६ लाई प्राविधिक शिक्षा र कृषि बागबानीको विशेष क्षेत्र, वडा नं. ७ लाई चिया खेती र खेलकुदको मुख्य क्षेत्र तथा वडा नं. ८ लाई हाते कागज र जुडिबुटीको विशेष क्षेत्र बनाउने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

काठेखोला गाउँपालिकाको समग्र विकासका लागि एमालेले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि पशुपालन र फलफूल खेती, पर्यटन, जलस्रोत सिंचाई, खेलकूद, सामाजिक सांस्कृतिक विकास, वन वातावरण, शान्ति सुरक्षा, खानीहरु, श्रम र रोजगार लगायतका विषयमा आफ्ना प्रतिबद्धता उल्लेख गरेको छ ।

एमाले नेतृत्वको स्थानीय सरकारले काठेखोलाको विकासका लागि गरेका कामहरुको विवरण सहित एमालेले आगामी दिनमा गर्ने कार्यहरुको बारेमा प्रतिबद्धता पत्रमा उल्लेख गरिएको एमाले काठेखोलाका अध्यक्ष डिलबहादुर कार्कीले जानकारी दिए ।

एमालेले निर्वाचनबाट विजयी भएपछि आगामी ५ वर्षका लागि ५ विशेष योजना निर्माण गरी अगाडि बढ्ने योजना बनाएको कार्कीले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here