प्रमुख दलले देशलाई बेरोजगार उत्पादनको कारखाना गराए : लिङ्देन

बागलुङ, २२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका प्रमुख दलले देशलाई बेरोजगार उत्पादनको कारखाना गराएको बताएका छन् ।

राप्रपा बागलुङले मंगलबार आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ३१ वर्षसम्म देशलाई चलाई राखेका काँग्रेस, एमाले र माओवादीले देशलाई पूर्ण रुपमा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत गरेको आरोप लगाएका हुन् । उनले हाम्रा देशका युवाहरुलाई विदेशमा बेचेर विदेशबाट पठाएको रेमिट्यान्सबाट देश चलाउँदै ठूलठूलो कुरा गरिराखेको बताएका छन् । ‘२०४६ सालको राजनीतिक परिवतर्न पछि एमाले, काँग्रेस र माओवादीले पालै पालो देश चलाएका छन्,’ अध्यक्ष लिङ्देननले भने–‘उनीहरुले देशलाई पूर्ण रुपमा बेरोजगार उत्पादन गर्ने काराखामा परिणत गरेको छन् । हाम्रा भाईछोराहरुलाई विदेश बेचेर उनीहरुले पठाएको रेमिट्यान्सबाट देश चलाएर ठूलठूलो कुरा गरिराखेका छन् ।’

अध्यक्ष लिङ्देनले देश अहिले सामान्य आँखाले देखे जस्तो नभएको बताए । उनले सामान्य आँखाले हेर्दा देश सामान्य तरिकाले चलेको देखिएपनि देशको खास स्थिति इतिहासकै सवभन्दा अफठ्यारो अवस्थामा रहेको बताए । उनले तीनप्रमुख दलका कारण देश श्रीलंका जस्तै गएकोले जनताले विचार गर्ने बेला आएको बताए । ‘देश श्रीलंका जस्तै बन्दैछ, जनताले अब बुझ्नुपर्छ, उनीहरुकै कारण यस्तो भएको हो, भ्रष्टाचारमा डुवेकाबाट देश बनाउन सकिंदैन,’ लिंदेनले भने–‘पटक पटक निर्वाचन जितेर गएकाबाटै देशको दुर्गती भएपछि अब कहिले उनीहरुले बिकास गर्न सक्छन् भनेर विश्वास गर्ने भन्दै जनताले बिचार गर्ने बेला आएको छ ।’

उनले अहिले अदालत अदालत जस्तो नभएको, संसद संसद जस्तो नभएको बताए । उनले देश विकासको लागि प्रमुख दलहरुको विकल्पमा सोच्नुपर्ने र त्यसको विकल्प राप्रपा मात्र रहेको बताए । ‘अबको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी बैकल्पिक शक्ति भएर अगाडी बढ्नेछ,’ उनले भने–‘कांग्रेसको विकल्प एमाले, एमालेको विकल्प कांग्रेस र कांग्रेस एमालेको विकल्प माओवादी कदापी हुँन सक्दैन । अब कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा हो ।’

उनले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपालाई जिताएर विकास कसरी गर्ने हेर्न सुझाव दिए । ‘अब हामी देश बनाउँछौं, स्थानीय निर्वाचनमा हामीलाई जिताउनु होस्’ उनले भने, ‘भोज भतेर गर्ने, पैसा बाड्नेलाई भोट नदिनुस् ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here