
काठमाडौं, १५ माघ । नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ ।
परीक्षण गरिएका नमुनामा माघ ११ गते ४८.७ प्रतिशत, १२ गते ४६.३ प्रतिशत, १३ गते ४१.५ प्रतिशत र १४ गते ३६.८ प्रतिशत संक्रमित भएको देखिन्छ । यो हिसाबले ६ दिनको अवधिमा १४ प्रतिशत बिन्दुले संक्रमण दर घटेको देखिन्छ । ९ गते यता प्रत्येक दिन २ देखि ४ प्रतिशत बिन्दुले संक्रमणदर घट्दै गएको तथ्यांकले औंल्याएको छ ।
पछिल्लो चौबिस घण्टामा परीक्षण भएका १९ हजार ८ सय ६९ वटा नमुनामध्ये ६ हजार ८ सय २७ मा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन संक्रमित संख्या ८ हजार १७ थियो ।
शुक्रबार थपिएकासहित मुलुकमा सक्रिय संक्रमितको संख्या ८९ हजार ८ सय ६९ पुगेको छ । संक्रमितमध्ये २ सय ५६ जनाको आइसियुमा र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अन्य होम आइसोलेसन र संस्थागत आइसोलेसनमा छन् । राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले माघको तेस्रो सातासम्म संक्रमणदर दैनिक २० हजारसम्म पुग्न सक्ने र त्यसपछि ओरालो लाग्ने प्रक्षेपण गरेको थियो ।
केहीले संक्रमित भएर पनि परीक्षण नगराएको र केही संक्रमित घरमै बसेकाले तथ्यांकमा समावेश हुन नसकेको देखिन्छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।