
बागलुङ, २१ मंसिर । नेपाल रेडक्रस शोसाईटी बागलुङ शाखाले कोभिड–१९को रेड जोन (उच्च जोखिम)मा रहेकोबागलुङ नगरपालिका–१३ पैयुँपाटामा स्वास्थ्य सचेतना सम्बन्धी माईकिङ गर्दै स्वास्थ सामाग्री सहयोग गरेको छ ।
नेपाल रेडक्रस शोसाईटी बागलुङ शाखाका सभापति जब्बर बहादुर लामिछानेको नेतृत्वमा पैयुँपाटामा पुगेको टोलीले वडा अध्यक्ष नारायण पौडेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको नेपाल रेडक्रस शोसाईटीका प्रोफेसनल भोलेन्टियर राजु सिग्देलले जानकारी दिए ।
सिग्देलका अनुसार संक्रमित क्षेत्रका नागरिकलाई स्वास्थ्य सामाग्री वितरण गर्ने उद्धेश्यले वडा अध्यक्ष पौडेललाई सेनिटाईजर ४८ थान र मास्क ५ सय थान हस्तान्तरण गरिएको छ ।
पछिल्लो समयमा पैयुँपाटामा शिक्षक र विद्यार्थी गरि८० जनाको एन्टिजीन परीक्षण गरिएकोमा एकैपटक ३४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । त्योसँगै पैयुँपाटामा मात्र काभिड–१९बाट संक्रमित हुनेको संख्या ४० पुगेको छ ।
वडामा रहेको त्रिभुवन माध्यामिक विद्यालय र दुर्गा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकमा कोभिड–१९ संक्रमण पुष्टि भएसँगै त्यहाँ सञ्चालित विद्यालयहरु एक हप्ताको लागि बन्द गरिएको वडा अध्यक्ष नारायण पौडेलले बताए । वडा भित्र सञ्चालित विभिन्न तहका ११ विद्यालय एक हप्ताको लागि बन्द गरिएको छ ।
कोभिड–१९ कहाँबाट फैलियो भन्ने एकिन नभएको स्वास्थ्य चौकी पैयुँपाटाकी सिनियर अनमी कल्पना गौतमले बताईन । उनका अनुसार कोभिड–१९बाट संक्रमित व्यक्तिहरुमा लक्षण भने खासै देखिएको छैन ।
त्यस क्षेत्रमा कोभिड–१९को संक्रमण विद्यार्थी र शिक्षकमा मात्र नभई केही उनीहरुको परिवारमा देखिएको सिनियर अनमी गौतमको भनाई छ ।









