
बागलुङ, ११ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागलुङ जिल्ला सभापतिको उम्मेदवारी दर्ता गराएका जित शेरचन र दोर्ण कुँवरले शनिबार पत्रकार सम्मेलन गरेका छन् ।
उम्मेदवारी दर्ता पछि मतदानको विहान पत्रकार सम्मेलन आयोजना गरेका शेरचनले आफ्नो प्यानलको घोषणा गरेभने कुँवरले भने आफु संस्थापक समूहको आधिकारीक उम्मेदवार भएको घोषणा गरे ।
कृष्णप्रसाद सिटौला समूहका नेताको रुपमा चिनिने शेरचनले जिल्लाका संस्थापक समूह (शेरबहादुर देउवा समूह)का नेताहरुलाई आडमा राखेर आफ्नो प्यानलको घोषणा गरेभने संस्थापन समूह (शेरबहादुर देउवा)को आधिकारीक उम्मेदवार घोषणा गरेका कुँवरले एक्लै पत्रकार सम्मेलनमा उपस्थित थिए ।
काँग्रेस नेता कृष्णप्रसाद सिटौला समूहका नेताको रुपमा चिनिने शेरचनलाई यसपटक संस्थापन समूहका नेताहरुले साथ दिएका छन्भने उनको समूहबाट उपाध्यक्ष, सचिव लगायत पदमा उम्मेदवारी दिएका छन् ।
यो पनि पढ्नुहोस : काँग्रेस बागलुङको सभापतिको लागि तीन जनाको उम्मेदवारी दर्ता
संस्थापन समूहबाट बागलुङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा विजयी भएकी पूर्वराज्यमन्त्री चम्पादेवी खड्का लगायतको साथ पाएका शेरचनको प्यानलबाट संस्थापन समूहबाट क्षेत्र–१ प्रदेश (क)मा सदस्य पदमा विजयी भएका खिमानन्द शर्मा उपाध्यक्ष र महाधिवेशन प्रतिनिधिमा विजयी भएका चिरञ्जीवी शर्माले सचिवमा उम्मेदवारी दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै शेरचनले काँग्रेसको सिद्धान्तलाई नयाँ ढंगले अगाडी बढाउन र पार्टी संगठन विस्तारलाई अगाडी बढाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले पुरानै शैलीले पार्टी नचल्ने बताउँदै त्यसको लागि अब आईटी मार्फत अगाडी बढाउनुपर्ने बताए ।
शेरचनले युवा र तन्नेरीहरुलाई नेतृत्व गर्दै सभापतिमा विजयी भएमा जिल्लालाई हाकेर आफ्नो पाँच वर्षमा काँग्रेसको काचुली फर्ने र कम्युनिष्टहरुलाई झाडु लगाउने बताउनुभयो । उहाँले एजेन्डा, नीति र कार्यक्रम बनाएर तीन/तीन महिनामा साधारण सदस्यता वितरण गर्ने, छ महिनामा क्रियाशिल भेला गर्ने, एक वर्षमा क्षेत्रको आमसभा गर्ने र डेढ वर्षमा जिल्लाको आमसभा गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।
उनले मन जितेर मात्र चुनाव जितेमा मात्र काम हुने बताउँदै पैसाले खरिद गरे, गुमराहमा पारेर र कार्यकर्तालाई अलमलाएर चुनाव जितेमा काम नहुने बताए । ‘पैसाले खरिद गरे, गुमराहमा पारेर, कार्यकर्तालाई अलमलाएर चुनाव जितेमा काम छैन,’ शेरचनले भने–‘चुनाव त जितिएला तर संगठन बनाउन सकिँदैन ।’ उनले आफ्नो उम्मेदवारी पार्टी निर्माण गर्न र विपक्षलाई परास्त गर्दै लाखैं युवाहरुलाई नेपाली काँग्रेसमा आकर्षण गर्नको लागि भएको बताए ।
यस्तै सभापति पदमा अर्का उम्मेदवार दोर्ण कुँवरले संस्थापन समूहको आफु आधिकारीक उम्मेदवार रहेको बताउँदै आफुले आफ्नो मुद्धा जिति सकेको बताए । उनले अहिलेसम्म पश्चिम बागलुङको जिल्ला सभापतिमा प्रतिस्पर्धा नगरेर आफुले दर्ता गरेर आफ्नो मुद्धा स्थापित भएको बताए ।
उनले पश्चिम र दक्षिण बागलुङले पनि नेतृत्व पाउनुपर्ने आफ्नो भनाई रहेपनि दक्षिणले खुट्टा टेक्न नसकेपनि आफुले पश्चिमबाट नेतृत्वमा उम्मेदवारी दर्ता गराएर आफ्नो मुद्धाले विजयी प्राप्त गरेको र आफुले मात्र जित्न बाँकी रहेको बताए । कुँवरले बागलुङ काँग्रेसमा गुटको फोहोरी डंगुर रहेको र त्यसलाई पन्छाउनको लागि आफुले बलिदान गरेर सुरुवात गरेको बताउनुभयो । उनले आफ्नो उम्मेदवारी विसुद्ध राजनीति मुद्धा भएकोले कुनै भागबण्डा, चर्चा र चन्दाको लागि नभएर पश्चिम बागलुङको मुद्धाको लागि भएको बताए ।