
बागलुङ, ११ फागुन
परिवर्तित परिस्थितिमा सहकारीका सदस्यहरुलाई सचेतना प्रदान गर्ने उदेश्यका साथ अभियान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यहरुका लागि एक दिने क्षमता अभिवृद्धि तालिम शनिवार सम्पन्न गरेको छ ।
सहकारी ऐन तथा नियमावलीमा भएको व्यवस्था अनुसार एउटा विषयको एउटा मात्र सहकारीमा शेयर सदस्य बन्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न तथा सदस्यहरुलाई सक्रिय बनाउदै व्यवसायिकता तर्फ अग्रसर गराउनका लागि तालिम आयोजना गरिएको संस्थाका सचिव प्रकाश शर्माले बताउनुभयो ।
तालिमको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी.ले गर्नु भएको थियो । सो अवसरमा बोल्दै जिसीले सहकारीलाई व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि शेयर सदस्यहरु सक्रिय हुनु पर्नेमा जोड दिनुभयो ।
संस्थाले सञ्चालन गरेका व्यवसायलाई सफल पार्नका लागि सदस्यहरुको महत्वपूर्ण भूमिका रहने भएकाले सदस्यहरुलाई संस्था र सहकारीका बारेमा जानकारी गराउनु पर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा सिर्जनशिल महिला तथा पुरुष समुहका अध्यक्ष धनमाया शर्माले समाजमा रहेका विपन्न वर्गका जनताको आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारीहरुले महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । सदस्यहरुलाई आर्थिक रुपमा मात्र नभई नेतृत्व विकास, क्षमता विकास लगायतका काममा अगाडि बढाउनका लागि नियमित शिक्षा तथा तालिमहरुको आवश्यकता रहेको उहाँको भनाइ थियो ।
तालिममा सहकारीमा सदस्यहरुको काम, कर्तव्य र अधिकार तथा सहकारी ऐन र नियमावली अनुसार सदस्यहरुको जिम्मेवारी, सहकारीको व्यवसाय र व्यवसाय सफलताका लागि सदस्यहरुको भूमिका लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।
संस्थाको रणनीतिक योजना, सदस्यहरुका लागि संस्थाले सञ्चालन गरेका सेवा तथा संस्थाको वित्तीय अवस्थाका बारेमा संस्थाका प्रवन्धक महादेव सापकोटाले जानकारी गराउनु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष देवी शर्माको अध्यक्षता, सचिव प्रकाश शर्माको सञ्चालन र कोषाध्यक्ष गणेश शर्माको स्वागतमा सम्पन्न भएको थियो ।
बानपा–४ पाखाधारमा आयोजित शेयर सदस्य क्षमता अभिवद्धि तालिमका अवसरमा २५ जना नयाँ शेयर सदस्यलाई स्वागत गरिएको थियो ।










