मुस्ताङ कोभिड–१९ सक्रिय सङ्क्रमित मुक्त जिल्ला

अमृतप्रसाद पौडेल
बेनी, २ कार्तिक । हिमालापारिको जिल्ला मुस्ताङ कोभिड–१९ को सक्रिय सङ्क्रमित मुक्त जिल्ला भएको छ । स्वास्थ्य कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार पछिल्लो समय सक्रिय सङ्क्रमित २ जनाले पनि आइतबार कोभिड–१९ जितेसँगै जिल्ला सक्रिय सङ्क्रमित मुक्त भएको हो ।

दशैं तथा तिहारको बिदा मनाउने आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुनुपर्ने मुस्ताङ कोभिड–१९ ले गर्दा कम भएको भए पनि आइतबारदेखि सक्रिय सङ्क्रमित मुक्त भएसँगै अब मुस्ताङमा पर्यटकहरुको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टीकाराम भण्डारीका अनुसार सक्रिय सङ्क्रमित २ जना आइतबार सङ्क्रमण मुक्त भएपछि जिल्ला सक्रिय सङ्क्रमणमुक्त भएको हो ।

गत वैशाखदेखि यता मुस्ताङमा कोभिड–१९ का कारणबाट १५ जना ब्यक्तिको मृत्यु भएको छ । पछिल्लो ६ महिना अवधिमा ५ सय ६१ जना व्यक्तिमा कोभिड– १९ सङ्क्रमण पुष्टि भएको छ । २ सय ५० जनाको पीसीआर परीक्षण गर्दा १ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । ३ हजार ८ सय २२ जनाको एन्टिेजेन परीक्षण गर्दा ४ सय ४९ जनामा सङ्क्रमण पुष्टि भएको निमित्त प्रमुख भण्डारीले बताउनुभयो ।

कोभिड–१९ सङ्क्रमण पुष्टि भएर गम्भीर अवस्थामा पुगेका २८ जना बिरामीलाई थप उपचार गर्न जिल्ला बाहिर पठाइएको थियो । मुस्ताङका पाँचवटै स्थानीय तहमा १८ वर्षमाथि उमेरका नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । जिल्लामा लक्षित वर्गले खोप लगाएसँगै मुस्ताङको जनजीवन साविकभन्दा सामान्य बनेको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका सबै नागरिकले खोप लगाइसकेको र कोरोना जोखिम कम भएको बताउनुभयो । जोखिम कम भएसँगै जारी निषेधाज्ञालाई सहज र खुकुलो पारिएको पनि उहाँले जानकारी दिनुभयो । जिल्ला कोभिड १९ सङ्कट ब्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै जिल्लाको आर्थिक अवस्था चलायमान तुल्याउन आवश्यक रहेको भन्दै शर्तसहित जिल्ला आउजाउ गर्न पाउने अनुमति प्रदान गरेको छ ।

मुस्ताङमा बसोबास गर्ने नागरिकबाहेक विदेशी नागरिकलाई ७ दिनभित्र गरिएको पीसीआर रिपोर्ट वा ७२ घण्टाभित्र गरिएको एन्टिजेन रिपोर्ट अथवा खोप लगाएको कार्डका आधारमा जिल्ला प्रवेशको अनुमति प्रदान गरेको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार धार्मिक तीर्थालु तथा पर्यटकको सुविधाका लागि सोह्रश्राद्ध सुरु हुन अगावै मुक्तिनाथ मन्दिर दर्शन खुल्ला गरिएको थियो ।

मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसँगै पर्यटकीय गतिविधि बढेको होटल अन्नपुर्ण इन मुक्तिनाथका सञ्चालक अमृत सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “गएको वैशाखदेखि बन्द रहेको पोखरा—जोमसोम हवाई सेवा असोज २३ गते नियमित सञ्चालनमा आएपछि पर्यटकहरु थप भित्रिने गरेका छन् ।”

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here