दशैंतिहारमा जुवातास खेल्नेविरुद्ध प्रहरीको यस्तो योजना

काठमाडाैं, ८ असोज । महानगरीय प्रहरी परिसर काठमाडौंले दशैंतिहार लगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ ।

परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि ‘चेक प्वाइन्ट’ राख्ने र व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश छ ।

प्रहरीले दशैंमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौंमा दशैंतिहार लक्षित गर्दै करीब ५ हजारको संख्यामा प्रहरी परिचालन गरिने जानकारी दिए । उनका अनुसार सादा पोशाकमा समेत प्रहरी परिचालन गरिने छ ।

भीडभाड हुने क्षेत्रमा सादा पोशाकमा समेत प्रहरी परिचालन हुनेछ । घरबेटीहरूलाई भाडामा बस्ने र काम गर्नेहरूको नाम, ठेगाना सहितका फोटो सहितको स्थायी विवरण विस्तृत रूपमा राख्न आग्रह गरिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा चोरी, डकैती, लुटपाटलगायत आपराधिक कार्य हुन सक्ने भएकाले परिसरले सचेत हुन समेत सबैमा आग्रह गरेको छ । जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेकाबारे जानकारी भए प्रहरी प्रहरीलाई सूचना दिन समेत भनिएको छ ।

कुनै पनि टोलमा असामान्य व्यक्ति पटक–पटक देखिए निगरानी राख्न समेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिँड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न भनिएको छ ।

सार्वजनिक स्थलहरूमा धूमपान मद्यपान गर्ने कार्यलाई निरुत्साहित गर्न, लागूऔषध तथा नशालु पदार्थ सेवन तथा बेचबिखन गर्ने कोही व्यक्ति देखिए जानकारी दिनसमेत आग्रह गरिएको छ ।

रातको समयमा घरको ढोका कसैले ढक्ढकाए सो व्यक्तिलाई नचिनेसम्म नखोल्न भनिएको छ भने अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान भनिएको छ । रातको समयमा घरका ढोका झ्याल राम्रोसँग लगाएर सुत्न भनिएको छ ।

बैंक तथा वित्तीय संस्थामा ठूलो नगद कारोबार गर्न जाँदा विश्वासिलो व्यक्तिलाई साथमा लैजान, सार्वजनिक स्थानमा हिँड्दा सुनका गरगहना प्रयोग नगर्न, धम्कीपूर्ण फोन आए सम्भव भएसम्म रेकर्ड गर्न भनिएको छ ।

जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेहरूका बारे जानकारी भए प्रहरी प्रहरीलाई सूचना दिनसमेत भनिएको छ । राजधानी दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here