टसमस भएनन् ओली–प्रचण्ड

काठमाडौं, १९ मंसिर । सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ । नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन् । दुवै पक्षका नेताबीच ओहोरदोहोर सुरु भएको छ ।

दुई अध्यक्षबीच कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट ठप्प छ । तर, विवाद समाधानको सूत्र खोजी गर्न दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई नेताहरूले घचघच्याइरहेका छन् । सचिवालयमा एकअर्काविरुद्ध लिखित प्रस्ताव ल्याएर सिँगौरी खेलिरहेका ओली र दाहालले बिहीबार एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै ‘अर्थपूर्ण’ भेटघाट गरेका छन् ।

नेताहरूले २० मंसिरसम्म सचिवालय बैठक रोकेर आ–आफ्ना तयारीसहित अनौपचारिक संवादमा जुटेका छन्। दुवै पक्ष भने टसमस देखिएका छैनन् । ओली सचिवालय बैठकमा जान छाडेका छन् भने दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमतरअल्पमतबाटै पार्टीलाई एउटा प्रक्रियामा लैजानुपर्ने बताइरहेका छन् । दोस्रो तहका नेताहरू असारमा स्थायी समिति बैठकमा देखिएको विवाद मिलाउन हस्तक्षेपकारी भूमिकामा थिए । परिणामस्वरूप दुवै अध्यक्षसहित शीर्ष नेता पार्टी विवाद मिलाउन कार्यदलमार्फत एउटा टोस प्रस्ताव बनाउने र त्यसकै आधारमा अगाडि बढ्नेसम्मको समझदारीमा पुगेका थिए ।

तर, यसपटक उनीहरूको प्रयास कामयावी हुन सकिरहेको छैन । उनीहरूका दबाब अध्यक्षद्वयले स्विकारिरहेका छैनन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here