झस्किरहन्छन् सम्झनाका बहिनीहरू

तस्वीर सौजन्य : कान्तिपुर दैनिक

काठमाडौं, १९ मंसिर । मूलढोकाबाट भित्र छिर्नेबित्तिकै रंगीन फ्रेममा सजिएको एउटा हँसिलो तस्बिर आँखामा ठोकिन्छ ।

त्यो तस्बिरमा मन्द मुस्कानसहित घरअगाडि उभिएकी देखिने सम्झना कामीको भौतिक अस्तित्व अब यही फ्रेमभित्र मात्रै सीमित छ ।

गत असोज ७ गते बलात्कारपछि बीभत्स हत्या गरिएकी १२ वर्षीया सम्झनाका सम्झनाहरू भने अहिले पनि ताजै छन् । जसका कारण घटना भएको तीन महिना पुग्न लाग्दा पनि उनका दुई बहिनीहरू सामान्य हुन सकिरहेका छैनन् । नातिनीहरू झस्केको देख्दा हजुरबुबा–हजुरआमाको मनको बाँध पनि पटकपटक भत्किन्छ ।

उनीहरूका आँखा पनि अहिलेसम्म ओभाएका छैनन् । ‘मर्ने मरेर गइहाली, ऊसँगै मर्न सकिँदैन भनेर हामीले त मन गाँठो पार्ने कोसिस गर्छौं । नातिनीहरूले बिर्सन दिँदैनन्,’सम्झनाकी हजुरआमा हाँसु कामीले भनिन्, ‘कहिले फोटो हेरेर रुन्छन् । कतै खेल्न गए पनि दिदीको याद आयो भनेर रुँदै घर आउँछन् । कहिले मध्यरातमा उठेर दिदी भन्दै चिच्याउँछन् । यिनीहरूलाई सम्झाउन खोज्दा हामी पनि मन थाम्न सक्दैनौं, रोएरै दिन काटिरहेका छौं ।’

सम्झनाको हत्या हुनुभन्दा तीन वर्षअघि उनकी १० वर्षकी माइली बहिनी रेश्मा र आठ वर्षीया साहिँली बहिनी करिश्मालाई बाजेबज्यैको साथ छाडेर उनीहरूका आमाबुबा भारतको बेंग्लोर गएका थिए । विपन्न परिवारका यी बालिकाहरू त्यसयता मस्टा गाउँपालिकाको खिकालामा बाजेबज्यैकै संरक्षणमा हुर्के पनि रेश्मा र करिश्माको आत्मीय अभिभावक, मन मिल्ने साथी र शिक्षक उनै सम्झना थिइन् ।

घरमा भएका दुईवटा बाख्रा उनीहरू मिलेर चराउँथे । सिमथलाको जंगल (सम्झनाको हत्या भएको ठाउँ, जहाँ उनीहरूको गोठ छ) मा सँगै लुकीपाई खेल्थे । बाख्रा चराउन को जाने भन्ने विषयमा कहिले उनीहरूको ठाकठुक पर्थ्यो । अन्ततः बहिनीहरूको जिद्दीका अगाडि सम्झना नै हार्थिन् । कि सबै मिलेर बाख्रा चराउन जान्थे कि त सम्झनाले अरू काम गरेर बहिनीहरूलाई बाख्रा चराउन पठाउँथिन् । कक्षा ६ मा पढ्ने सम्झना सधैं प्रथम हुन्थिन् । आफू गृहकार्य गर्दा ४ र ३ कक्षामा पढ्ने बहिनीहरूलाई नजानेको सिकाउनु उनको नियमित काम हुन्थ्यो ।

पढाइमा दिदीको सहयोग पाएका दुवै बहिनीहरू पनि राम्रो गर्दै थिए । करिश्मा त कक्षामा प्रथम नै हुन्छिन् । अचेल यिनै यादहरू बहिनीहरूको कलिलो मुटु घोच्ने सियो बनेका छन् । जसले गर्दा रेश्मा र करिश्मा पाइला–पाइलामा झस्किरहन्छन् ।

‘सम्झना हँॅुदा केटाकेटीको हाँसोले घरै गुन्जिन्थ्यो, अचेल सुनसान हुन्छ,’ सम्झनाकी फुपू लक्ष्मीले भनिन्, ‘यिनीहरू पहिला जस्तो होहल्ला गर्दैनन्, खालि टोलाइराख्छन् ।’

होमवर्क गर्दा नजानेका बेला दिदीको याद आउने रेश्माले बताइन् । ‘पढ्नै मन लाग्दैन, दिदी सम्झेर रुन मात्रै मन लाग्छ,’ उनले भनिन्, ‘बाख्रा चराउन जाँदा, खेल्न जाँदा पनि उसैको याद आउँछ । कतै जान, केही गर्न मन लाग्दैन ।’ करिश्माको हालत पनि उस्तै छ । स्कुल बिदा भएर दिदीका दौंतरीहरू फर्किंदा उनीहरूका आँखाले भीडमा सम्झनालाई खोजिरहन्छन् ।

राति सपनामा उनी दिदी निको भएर फर्किएको र त्यो बीभत्स घटनाको विवरण सुनाएको देख्छिन् र तर्सिंदै उठ्छिन् । ‘जहिले सपनामा दिदी चैनपुरबाट निको भएर फर्किएको देख्छु,’ करिश्माले भनिन्, ‘मलाई सिमथलाको ओरालोमा त्यसले छोप्यो, मन्दिरभित्र लगेर बलात्कार गर्‍यो, पहिला ढुंगाले हान्यो, पछि त्रिशूलले हान्यो, म चिच्याएँ, तिमीहरूले सुनेनौ भन्छे । सपना देखेर ब्युँझिएपछि के–के कुरा याद आउँछ । निद्रै लाग्दैन ।’ नातिनीहरूको यो अवस्थाले हजुरबुबा गोरख कामीलाई झन् विक्षिप्त बनाउँछ । एकातिर उनलाई नाबालिका नातिनीहरूको पिरलो छ भने अर्कोतिर अपराधी उम्किन्छ कि भन्ने चिन्ताले राम्रोसँग सुत्न सकेका छैनन् । सम्झना हत्यापछिको अवस्थाको जानकारी दिँदै गर्दा पटकपटक विह्वल भएका उनले आरोपित राजेन्द्र बोहराका आफन्तहरूले आफूहरूलाई जातीय विभेदसमेत गर्ने धम्की दिने गरेको सुनाए ।

‘नातिनीहरूको यस्तो अवस्था छ । उता उनीहरू तिमी डुमहरू के गर्न सक्छौ ? सक्छौ भने हामीलाई पनि जेल हालेर देखाऊ भन्दै धम्क्याउँछन् । हामीले सबै मिलाइसकेका छौं, राजेन्द्र छिट्टै छुटेर आउँछ भनेर भन्छन्,’ उनले भने, ‘त्यो अपराधी छुटेर आयो भने हामी त जिउँदै मरे जस्ता हुनेछौं ।’

सम्झनाको बलात्कार र हत्याका आरोपित राजेन्द्र बोहरा थुनामा छन् । उनका बाबुले नै आफूहरूलाई धम्क्याउने गरेको गोरखका दाजु कल्कु कामीले बताए । उमेर कम भएको भन्दै जिल्ला अदालत बझाङले आरोपित बोहरालाई अहिले पुर्पक्षका लागि बाल सुधारगृहमा पठाएको छ । राजेन्द्रले बयानमा आफूले बलात्कारपछि सम्झनाको हत्या गरेको स्वीकार गरिसकेका छन् । बोहराको उमेर २० वर्ष पुगिसकेको गाउँका सबैलाई थाहा भए पनि कागजमा कम उमेर देखाएर अपराधीलाई छिटो उम्काउन चलखेल गरिएको हुन सक्ने पीडित परिवारको आशंका छ ।

आरोपितका थरीथरी जन्ममिति
​बोहराको जन्ममिति विभिन्न ठाउँमा फरक–फरक देखिएका छन् । वडा कार्यालय र बोहरा पढ्ने विद्यालयमा उनको जन्ममिति फरक छ । राजेन्द्रका आमाबुबाले दुवै दस्ताबेजसँग नमिल्ने फरक जन्ममिति बताइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले विद्यालयको रेकर्डमा रहेको जन्ममितिलाई आधार बनाएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । उनी कक्षा ८ मा अध्ययनरत मस्टा आधारभूत विद्यालयको अभिलेखमा जन्ममिति २०६१ वैशाख २० गते उल्लेख छ । तर, मस्टा गाउँपालिका–२ कार्यालयको अभिलेखमा २०६१ मंसिर १२ गते भनेर जन्म दर्ता छ । २०६७ असार २३ मा राजेन्द्रकी बहिनीको पनि एकै दिन वडा कार्यालयमा जन्म दर्ता गरिएको छ । अनौठो के भने एकै दिन राखिएको उक्त अभिलेखमा उनकै सहोदर बहिनी अञ्जना बोहराको जन्ममिति २०६१ मंसिर ३० गते उल्लेख छ । स्थानीय भने अञ्जना राजेन्द्रभन्दा तीन वर्ष कान्छी भएको बताउँछन् ।

‘वर्ष दिनको फरक हुनु ठीकै हो । जुम्ल्याहा भए एकै दिन जन्ममिति हुनुपर्ने, यो हुनै नसक्ने खालको रेकर्ड भेटियो,’ मस्टा–२ का वडाध्यक्ष शेरबहादुर खड्काले भने, ‘लेख्नेले पनि विचार गर्नुपर्ने हो । यो विषय गाउँमा बुझ्दा सबै थाहा हुन्छ ।’

अदालतलाई आवश्यक परे वास्तविक जन्ममिति पत्ता लगाउन वडाले सहयोग गर्ने उनले बताए । यता राजेन्द्रका बाबु वीरबहादुर बोहराले आफ्नो छोराको उमेर १४ वर्ष भएको दाबी गरे । उनले राजेन्द्र २०६३ असोजमा जन्मिएको बताए । ‘गते र बार मलाई थाहा भएन । जन्मिएको ०६३ सालको असोज महिनामा हो,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बोहरा दाजु र बहिनीको वडा कार्यालयमा भएको जन्मदर्ताका बारेमा त्यसबेला जानकारी नआएको र राजेन्द्रको मात्रै जन्ममिति हेर्दा वडामा भन्दा विद्यालयको रेकर्डमा बढी देखिएकाले त्यही आधारमा अनुसन्धान गरिएको बताए ।

‘त्यो बेला हामीले राजेन्द्रको मात्रै जन्ममिति हेर्‍यौं । बहिनीको विषय अनुसन्धानमै आएन,’ उनले भने, ‘उसले गरेको अपराध गम्भीर प्रकृतिको भएकाले बढी देखिएको जन्ममितिलाई आधार मानेर मुद्दा चलाएका हौं ।’ प्रहरीले अनुसन्धानको काम पूरा गरिसकेकाले यस विषयमा केही गर्न नमिल्ने भए पनि पीडित पक्षले अदालतमा प्रमाणसहित निवेदन दिए आरोपितको जन्ममितिका बारेमा पुनः छानबिन हुन सक्ने उनले बताए । कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंहले खबर लेखेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here