काठमाडौं, ६ मंसिर । जाडोयाममा वायु प्रदूषण बढ्ने भएकाले कोभिड–१९ को संक्रमण थप फैलिन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । मंसिर दोस्रो सातादेखि माघ तेस्रो सातासम्म चिसो बढी हुन्छ ।

वातावरणविद् भूषण तुलाधरका अनुसार जाडो (हिउँद) मा वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ । ‘जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ, त्यतिबेला अत्यन्तै सचेत हुनुपर्छ,’ उनले भने ।

ह्याम्स अस्पतालका छाती तथा फोक्सो रोग विशेषज्ञ डा. राजु पंगेनीले वायु प्रदूषण, कोरोना भाइरस र चिसोले मुटु, छाती र श्वासप्रश्वास जस्ता दीर्घरोगीलाई सिधै आक्रमण गर्ने सम्भावना बढी हुने बताए । ‘दीर्घरोगी भएकाहरूलाई घर बाहिर निस्किएका व्यक्तिसँग टाँसिएर जाने धूलोको कणले संक्रमण बढाउन सक्छ,’ उनले भने, ‘त्यस्ता कणमा भाइरसको लोड बढी हुने भएकाले जाडोयाममा इन्फेक्सनको सम्भावना झनै उच्च हुन्छ ।’

विज्ञहरूका अनुसार पानी नपर्ने र हावा नचल्ने भएकाले जाडो मौसममा प्रदूषण बढी हुन्छ । यही समयमा भाइरस पनि बढी सक्रिय रहन्छ । काठमाडौं उपत्यका कचौरा आकारको भएकाले जाडोयाममा धूलोको कण तल्लो भागमा तैरिएको हुन्छ । ‘त्यस्तो बेला बाहिरबाट घरभित्र जाँदा धूलोका मसिना कणसँगै भाइरस पनि टाँसिएर गएको हुन्छ,’ डा. पंगेनीले थपे, ‘त्यस्ता कणले श्वासप्रश्वास, छाती रोग र अन्य दीर्घरोगीलाई छिट्टै आक्रमण गर्ने सम्भावना उच्च हुन्छ ।’

त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार प्रदूषणले शरीरको रोग प्रतिरोधक क्षमतालाई कमजोर पार्छ, त्यसले विशेष गरी फोक्सोमा असर गर्छ । ‘प्रदूषणले बिग्रेको फोक्सोमा भाइरसको आक्रमण हुँदा संक्रमणको गम्भीरता बढी हुन्छ,’ उनले भने । राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले पनि सास फेर्दा भित्रिएको प्रदूषणले फोक्सोको क्षमता प्रभावित पार्ने हुनाले कोरोना वा कुनै भाइरसको आक्रमण हुँदा बढी जटिलता देखिने बताए ।

अमेरिकाको हार्वर्ड युनिभर्सिटी र जर्मनीका वैज्ञानिकहरूले अमेरिका र चीनमा चार महिनाअघि गरेको अध्ययनअनुसार वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरूमा कोभिड–१९ संक्रमण बढी हुने देखिएको छ । उक्त अध्ययनले
कोभिड–१९ बाट भएका मृत्युमध्ये १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण नै रहेको ठम्याएको छ ।

मेडिकल जर्नल ‘लेनसेट’ को एक रिपोर्टअनुसार वायु प्रदूषणको स्तर बढ्नाले कोभिड–१९ को केस १३ प्रतिशतसम्म बढ्न सक्छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का अनुसार पनि लामो समयसम्म प्रदूषणको प्रभावमा रहँदा कोभिडले मृत्यु हुने जोखिमसमेत बढ्ने सम्भावना रहन्छ । ‘कोभिड कुनै मौसममा कम वा बढी हुने देखिएको छैन । यो संक्रमण गर्मीमा पनि हराएन, जाडोमा उस्तै छ । तर प्रदूषणले शरीरमा रोगप्रतिरोधी क्षमता कमजोर बनाउँछ । प्रदूषणमा फोक्सोमा कोरोना भाइरस सहजै प्रवेश गर्छ,’ डा. दासले भने ।

‘प्रदूषण र कोरोना भाइरसको दोहोरो आक्रमणमा परेपछि फोक्सोमा गम्भीर समस्या हुन सक्छ,’ उनले भने ।

कोभिड–१९ श्वासप्रश्वाससँग जोडिएको रोग भएकाले जाडोका बेला धूलोको मात्रा बढ्दा ५० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई बढी असर पर्न सक्ने चिकित्सकहरू बताउँछन् । काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी छ । डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर काठमाडौंमा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पीएम १० र पीएम २.५ को मात्रा पुग्ने गरेको छ । सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । जाडो महिना मंसिर, पुस र माघमा हानिकारक कण २.५ को मात्रा सबभन्दा अधिक हुने गरेको छ ।

वातावरणविद् तुलाधरका अनुसार वायु प्रदूषणका कारण सबैभन्दा बढी मृत्युदर हुने मुलुकभित्र नेपाल पर्छ । ‘स्टेट अफ ग्लोबल एयर– २०२०’ का अनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो । कोभिड–१९ को महामारी जारी भएकाले यो पटकको चिसो हुने समय (पुसदेखि फागुन) सम्म मृत्यु संख्या बढ्ने अनुमान गरिएको छ । ‘विगतका वर्षहरूमा पनि चिसोको समयमा काठमाडौंमा वायु प्रदूषण सबैभन्दा बढी हुने गरेको थियो,’ स्वच्छ ऊर्जा नेपालका शंकरप्रसाद शर्माले भने, ‘अब आउने २–३ महिना काठमाडौंको वायु प्रदूषण ह्वात्तै बढ्ने निश्चित छ ।’ वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ ।

वातावरणविद् तुलाधरका अनुसार जाडोयाममा काठमाडौं उपत्यका पीएम २.५ को मारमा हुन्छ । २.५ माइक्रोग्रामभन्दा मसिना कणलाई पीएम २.५ भनिन्छ । मानिसको कपालको औसत मोटाइ ६० माइक्रोग्राम हुन्छ । ‘सानो कण श्वास नलीमार्फत फोक्सोसम्म पुग्छ,’ अर्का विज्ञ सञ्जय खनालले भने, ‘मसिना कण हावामा लामो समयसम्म बस्छन् र ती शरीरभित्र पस्ने सम्भावना बढी हुन्छ ।’

मसिना कण वरपर हानिकारक रसायनहरू टाँसिएर बस्ने हुनाले तिनले विभिन्न रोग निम्त्याउने सम्भावना बढ्ता हुन्छ । काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । सडकको धूलोसमेत अर्को स्रोत हो । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धूवाँ, इँटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धूवाँ पनि वायु प्रदूषणका स्रोत हुन् । ‘बाहिरबाट काठमाडौं खाल्डोमा प्रदूषण भित्रिन्छ,’ तुलाधरले भने, ‘स्थानीय रूपमा पनि वायु प्रदूषण उत्सर्जन हुन्छ, जुन कचौराजस्तो उपत्यकामा लामो समय तैरिएर रहन्छ ।’

कार्ययोजना के भयो ?
मन्त्रिपरिषद्ले गत वर्ष फागुन १२ गते ‘काठमाडौं उपत्काका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना–२०७६’ ल्याएको थियो । वायु प्रदूषणका कारण उपत्यका आक्रान्त बनेपछि वातावरण विभागले तयार गरेको उक्त कार्ययोजना वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो । वायु गुणस्तर व्यवस्थापन कार्ययोजना स्वीकृत भएको ९ महिना बिते पनि कार्यान्वयन र समन्वय समितिको बैठकसमेत बस्न सकेको छैन । कार्ययोजना कार्यान्वयनका लागि सरोकारवाला मन्त्रालयहरूबीच समन्वय गर्न वन तथा वातावरणमन्त्री शक्ति बस्नेत अध्यक्ष रहेको एउटा समिति छ तर त्यसको एउटा पनि बैठक बस्न सकेको छैन ।

कार्ययोजना कार्यान्वयनका लागि वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली अध्यक्ष रहेको अर्को समिति छ । वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलका अनुसार बल्ल मन्त्रालयका सचिव अध्यक्ष रहेको समितिको बैठकको तयारी भइरहेको छ ।

काठमाडौं उपत्यका नगरपालिका फोरमले पनि उपत्यकाको प्रदूषण नियन्त्रण गर्न २०७५ कात्तिक १३ गते ९ बुँदे प्रतिबद्धता पारित गरेको थियो । तर ती प्रतिबद्धताको कार्यान्वयन फितलो रहेको जानकारहरू बताउँछन् ।

डब्लूएचओले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायहरूसँग समन्वय गर्दै दुई वर्षदेखि काठमाडौं उपत्यकाका लागि ‘सहरी स्वास्थ्य कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु (श्रेष्ठ) नगरपालिकाहरूले जनताको जनस्वास्थ्यमा भन्दा पनि भौतिक संरचना र बाटो निर्माणलाई प्राथमिकता राखेर काम गरेकाले सहरी क्षेत्रमा प्रदूषण बढिरहेको बताउँछन् । ‘ध्वनि र वायु प्रदूषण नियन्त्रण र फोहोर पानीको प्रशोधनसँगै सार्वजनिक शौचालय र सहरी सौन्दर्य नगरपालिकाको विकासको खम्बा हुनुपर्ने थियो,’ उनले भने, ‘जनताले दिएको कर जनतालाई नै स्वस्थ बनाउने काममा खर्च गर्न सकियो भने सबै कुरा सन्तुलित हुन्छ ।’ नगरहरूको वातावरण सुधारका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच साझेदारी र सहकार्य गर्नुपर्ने देखिएकाले समन्वय गर्नेतिर आफू सक्रिय भएको उनले सुनाए ।

के छ कार्ययोजनामा ?
काठमाडौं उपत्काका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि गर्नॅपर्ने क्रियाकलापको सूची छ । ‘भित्रिने सवारीसाधनमा युरो–४ मापदण्ड तत्कालै लागू गरिनेछ,’ कार्ययोजना भनिएको छ, ‘प्रदूषणसम्बन्धी मापदण्ड लागू गरी पास हुने सवारीसाधनलाई हरियो स्टिकर दिइनेछ ।’ अहिले जस्तोसुकै सवारीसाधनले पनि पैसा खर्च गरेर हरियो स्टिकर टाँस्ने गरिएको छ । नेपालमा अहिले युरो–३ मापदण्डका सवारीसाधन भित्रिन्छन् । भित्र्याइने सवारीसाधन नै गुणस्तरीय बनाउन विभागले मापदण्ड बदल्न लागेको हो ।

ठूला खाले निर्माण उपकरण तथा सवारीसाधनका लागि अलग्गै युरो मापदण्डको सुरुवात एक वर्षभित्र गरिने कार्ययोजनामा उल्लेख छ । डिजेलबाट चल्ने सवारीसाधनमा डिजेल पार्टिकुलर फिल्टर वा कुनै पनि रसायन प्रयोग नगरी सञ्चालनमा गरिने मेकानिकल पाइप जडान गर्ने र त्यसको नियमित मर्मतसम्भार गर्ने कानुनी व्यवस्था गरिँदै छ । ‘दुई वर्षभित्र वर्कसपहरूको प्रदूषण नियन्त्रणका सम्बन्धमा क्षमता विस्तारका कार्यक्रम कार्यान्वयन गर्ने र तिनको प्रमाणीकरणको व्यवस्था गरिनेछ,’ गत फागुनमा ल्याइएको कार्ययोजनामा भनिएको छ, ‘यसको जिम्मेवारी यातायात व्यवस्था विभागलाई दिइनेछ । काठमाडौंभरि चल्ने सवारीसाधनको प्रदूषण जाँच गर्न एक वर्षभित्र कम्तीमा दुईवटा प्रदूषण मापन केन्द्र स्थापना गरिनेछ ।’

सरकारले विद्युतीय तथा स्वच्छ सवारीसाधन प्रवर्द्धनमा जोड दिने योजना बनाएको छ । ‘विद्युतीय सवारीसाधनको आयातमा पूर्ण भन्सार छुटको व्यवस्था गरिनेछ,’ कार्ययोजनामा उल्लेख छ, ‘अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयसँग सहकार्य गरी यसको टुंगो लगाइनेछ ।’ विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न एक वर्षभित्र चार्जिङ सुविधा भएका बस टर्मिनलहरू एवं चार्जिङ स्टेसनहरू विकास गर्ने, पर्यटकीय तथा सांस्कृतिक रूपमा संवेदनशील क्षेत्रमा धूवाँरहित सवारीसाधन, रिक्सा, साइकल मात्र चल्न दिइने भनिएको छ । ‘अबको ५ वर्षभित्र १० स्थानमा विद्युतीय सवारी रिक्सा मात्र चलाइनेछ,’ कार्ययोजनामा उल्लेख छ, ‘पुराना गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गरिनेछ र विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्न अनुदानको व्यवस्था हुनेछ ।’

सवारीसाधनको जाँच प्रणाली प्रभावकारी बनाउने र प्रदूषण जाँचका लागि पाँचवटा मोबाइल स्टेसन व्यवस्था गरिने पनि भनिएको छ । वातावरण, यातायात व्यवस्था विभाग र वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबीच सहकार्य गरी त्यसलाई प्रभावकारी बनाइने योजना छ । प्रदूषणरहित परिवहन प्रणालीको विस्तृत सम्भाव्यता अध्ययन गर्ने, दुई वर्षभित्र बस द्रुत परिवहन र ६ लेनभन्दा माथिका सडकमध्ये कम्तीमा कुनै एक स्थानमा परीक्षणका रूपमा बसका लागि छुट्टै लेनको व्यवस्था गरिने कार्ययोजनामा उल्लेख छ । यस्तै काठमाडौं दिगो सहरी यातायात परियोजनाले तर्जॅमा गरेको सवारी रुट पुनः समायोजन योजना तत्कालै कार्यान्वयन गरिने लक्ष्य छ ।

मालवाहकलाई उपत्यकामा निश्चित समयावधिमा मात्र प्रवेश गर्न दिने, बिस्तारै चल्ने गाडीहरू सडकको बायाँतर्फबाट व्यवस्था गर्ने, सडकपेटी निर्माण र सुधार गर्ने, निर्माण सामग्री थुपार्ने चलन रोक्नेलगायत योजना पनि छन् ।

ट्राफिक जाम बढी हुने ठाउँमा ओभरफ्लाई बनाउने, कालोपत्र नगरिएका सहायक सडकलाई मुख्य सडकमा जोड्ने, नदी किनारका सडक करिडोर निर्माणलाई प्राथमिकता दिने, थानकोट नजिक मालवाहकका लागि पार्किङस्थल बनाउने, अन्तरसहर बसहरूको बसपार्क चक्रपथबाहिर बनाउने, सहर छिर्ने मुख्य नाकासहित भित्र विभिन्न स्थानमा गाडीका टायर पखाल्न संरचना बनाउने र मेट्रो प्रणालीको विस्तृत डिजाइन गर्नेलगायत योजना छन् । आकाशे बाटो, सब–वेलगायत वैकल्पिक आवागमनको व्यवस्था, जमिनमुनिबाट फोन, विद्युत्, पानी, ढलको व्यवस्था गर्ने र पैदल तथा साइकलमैत्री सहर बनाउनेलगायत योजना पनि कार्ययोजनामा उल्लेख छन् । कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँ र अतुल मिश्रले खबर लेखेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here