
काठमाडाैं, ६ भदौ ।
सरकारले गत चैत ९ देखि बन्द भएको अन्तर्राष्ट्रिय उडान भदौ १६ गतेदेखि खुला गर्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले पीसीआर परीक्षण सहज भएका मुलुक तथा सहरबाट काठमाडौंका लागि उडान खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताएका हुन् ।
‘पीसीआर परीक्षण सहज भएका मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपेली मुलुकबाट नेपाल सरकारको अनुमति पाएका नेपाली नागरिकहरू र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरू, संयुक्त राष्ट्रसंघ तथा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिहरूलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गरिनेछ,्र’ मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भने । उनका अनुसार भदौ १६ पछि हुने नियमित उडान तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाउनेछ ।
तर, पीसीआरको व्यवस्था सहज नभएका मुलुकबाट तत्काल नियमित उडान हुने छैनन् । ‘जस्तै साउदी अरब, कुबेत, कतार र अन्य मुलुकबाट नियमित यात्रु ल्याउन पाइने छैन,’ मन्त्री खतिवडाले भने, ‘तर, त्यस्ता मुलुकबाट नियमति उडान नभई सरकारको अनुमतिमा मात्रै उद्धार (चार्टर) उडान भने हुनेछन् । त्यसका लागि ती मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगले सिफारिस गरेको नामावलीका आधारमा मात्रै चार्टर उडान गर्न सकिनेछ ।’
नेपाल आउन खुला गरिएका मुलुकबाट आउने यात्रुले ७२ घण्टा अघिको पीसीआर नेगेटिभ भएको रिपोर्ट बुझाउनुपर्नेछ । त्यस्तै विदेशबाटै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वेबसाइटमा रहेको फर्म अनिवार्य भरेर साथै ल्याउनुपर्नेछ । हार्ड कपी नभएमा बारकोड बुझाउनुपर्नेछ । त्यस्तै ७ दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । होटलको बुकिङ पनि अनिवार्य गरिएको छ । यी सबै गरेमा मात्रै पर्यटन मन्त्रालयले उडान तालिका प्रकाशन गर्नुपर्ने निर्णय गरिएको छ ।
होटलको बसाइ सकिएपछि नेपालमा पुनः परीक्षण हुने र यात्रुको रेकर्ड राखिनेछ । उनीहरूले थप १४ दिन होम क्वारेन्टाइन पनि बस्ने लिखित प्रतिबद्धता जनाउनुपर्नेछ । ‘१४ दिन होम क्वारेन्टाइनको अनुगमन’ को जिम्मेवारी मन्त्रिपरिषद्ले स्थानीय तहलाई दिएको छ । मन्त्रिपरिषद्ले हवाई टिकट जारी गर्दाकै अवस्थामा होटल क्वारेन्टाइनमा कम्तीमा ७ दिन बस्दा लाग्ने खर्चसमेत उठाउन वायुसेवा कम्पनीलाई अनुमति दिएको छ । होटल खर्च वायुसेवा कम्पनीलेनै तिर्नुपर्नेछ ।
मूल्यसहितको होटलहरूको सूची विभिन्न जिल्ला तहमा रहेका ‘जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)’ ले पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र सीसीएमसीको वेबसाइटबाट सार्वजनिक गराउनुपर्ने छ । ती होटलहरूको सूची विदेशमा रहेका नेपाली नियोग तथा सम्वन्धित वायुसेवा कम्पनीलाई पनि जानकारी गराउनुपर्ने छ । यस विषयको व्यवस्थापनमा कुनै जटिलता देखिएमा पर्यटन मन्त्रालयले सहजीकरण गर्नुपर्नेछ ।
उद्धार उडानबाट पीसीआर परीक्षण नगरी आएका तर अरू नै जाँच (चिकित्सकको नो अब्जेक्सन पत्रलगायत) गरेर आएका यात्रुहरूले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । उनीहरूको पाँचौं दिनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण गर्ने र नतिजा नेगेटिभ आएमा थप ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ । सरकारले एउटै उडानमा पीसीआर नेगेटिभ र परीक्षण नभएका व्यक्तिलाई मिसाएर ल्याउन निषेध गरेको छ । यदि यसरी मिसाएर ल्याइएमा एयरलाइन्सले खर्च व्यहोर्ने गरी सबै यात्रुलाई होटल क्वारेन्टाइनमा राखिनेछ भने एयरलाइन्सलाई सरकारले कारबाही गर्नेछ । त्यसैगरी वायुसेवा कम्पनीहरूले पीसीआर परीक्षण नगराएका, होटल बुकिङ नगरेका वा अन्य सर्त पूरा नगरेका यात्रुलाई ल्याउन पाउने छैन । यदि कुनै अनियमितता गरेको पाइएमा त्यस्ता वायुसेवा कम्पनीलाई पर्यटन मन्त्रालयले प्रचलित कानुनअनुसार कारबाही गर्नेछ ।
सरकारले श्रम गन्तव्यमा अलपत्र परेकालाई वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट मात्रै नेपाल ल्याउने भएको छ । उनीहरूलाई कोषकै खर्चमा क्वारेन्टाइनमा राखिनेछ । तर, उनीहरू उपत्यकाभित्रका होटल क्वारेन्टाइनमा आफ्नै खर्चमा ७ दिन अनिवार्य बस्नुपर्नेछ । त्यसपछि थप १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले निर्णय गरेको छ । चैत ११ गते रोकिएको आन्तरिक उडान भने खुला गरिएको छैन ।
कान्तिपुर दैनिकमा सुरज कुँवरले खबर लेखेका छन् ।









