
काठमाडौं, ४ भदौ ।
सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद समाधानतर्फ उन्मुख भएको मानिएका बेला निर्वाचन आयोगले बुधबार नेकपा (एमाले) नामक दल दर्ता गरेको छ । नेकपा (एमाले) को दर्ता प्रक्रिया बढाउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको पार्टीमा उनी इतरपक्षले आरोप लगाउँदै आएका छन् ।
विराटनगरकी सन्ध्या तिवारीले गत असार १४ गते आयोगमा नेकपा (एमाले) दर्ताका लागि निवेदन दिएकी थिइन् । २१ सदस्यीय कार्यसमितिमा रहेका व्यक्ति राजनीतिमा चिनिएका होइनन् । कार्यसमितिमा १३ जना महिला र बाँकी पुरुष छन् । आयोगको बुधबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानुनबमोजिम सबै प्रक्रिया पूरा गरेर आएपछि नेकपा (एमाले) लाई दर्ता गरिएको बताए । ‘सबै प्रक्रिया पूरा गरेको पार्टीलाई दर्ता नगर्ने अधिकार आयोगले राख्दैन,’ उनले भने, ‘प्रक्रिया पूरा गरेको वा नगरेको हेरेपछि निर्णय हुन्छ ।’ उनले सचिवालयले आवश्यक सबै कागजातको छानबिन र प्रक्रिया पूरा गरेर आयोगसमक्ष पेस गरेपछि निर्णय भएको बताए । नेकपा (एमाले) १ सय ३२ औं दलका रूपमा दर्ता भएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनमा दल दर्ताको निवेदन परेको ४५ दिनभित्र आयोगले दर्तासम्बन्धी निर्णय दिनुपर्ने प्रावधान रहेका कारण पनि आयोगले केही न केही निर्णय दिनैपर्ने अवस्था रहेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनका अनुसार नयाँ दलका पदाधिकारीले बुधबार नै प्रमाणपत्र बुझेका छन् । उनले दल दर्ताको प्रक्रिया जुनसुकै बेला पनि चलिरहने बताए ।
कान्तिपुर दैनिकमा खबर छ ।









