
काठमाडौं, २२ साउन ।
लकडाउन खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । लकडाउन अघिसम्म दैनिक सयभन्दा कम संख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ ।
लकडाउन खुलेपश्चात् काठमाडौं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ । बुधबार मात्र काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२ सहित देशभर ३८१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
उपत्यकामा अझ खतरा
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंका ५७ जना र ललितपुरका ५ जना गरी कुल ६२ जनामा सङ्क्रमण भएको जानकारी दिए ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा काठमाडौंका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १४ जना र ललितपुरका एक जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई र ललितपुरका दुई जनामा कोरोना पुष्टि भएको जानकारी उनले दिए ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौंका एक, स्टार अस्पतालमा काठमाडौंका एक र ललितपुरका दुई, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका ११ र डीआईडीएल प्रयोगशालामा काठमाडौंका एक जनामा कोरोना देखिएको हो ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ३५९ को पीसीआरबाट गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिए । कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको छ ।
आजको गोरखापत्र दैनिकबाट









