
काठमाडौं, ३ साउन ।
कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ ।
पछिल्ला दुई साताको अवधिमा २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा नै ५ हजार ४ सय ५० जना डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २० असारदेखि हालसम्म दैनिक औसतमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको देखिन्छ ।
यस्तै, २ साताको अवधिमा दैनिक ३ सय ८९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ दिनको अवधिमा ६६ हजार २ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । जसअनुसार दैनिक ४ हजार ७ सय २९ जनाको कोरोना परीक्षण भएको देखिन्छ ।
कुल संक्रमितमध्ये हालसम्म ६६.१२ प्रतिशत डिस्चार्ज भएका छन् । यस्तै ३३.८८ प्रतिशत सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत छन् ।
२ साताको अवधिमा १० हजार ३ सय ६९ जना क्वारेन्टाइनबाट घर फर्किएका छन् । यस्तै, दुई साताको अवधिमा आइसोलेसनमा उपचाररत ३ हजार १ सय ७१ जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ लाख ८ हजार ४ सय ९८ जनाको आरटी-पीसीआर प्रविधीबाट कोरोना परीक्षण गर्दा १७ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपचारपछि ११ हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन् ।
हाल क्वारेन्टाइनमा २२ हजार ७ सय ५६ छन् । संक्रमितमध्ये ५ हजार ८ सय ७१ जना आइसोलेसनमा उपचाररत छन् ।
अधिकांशको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ४० जनाको मृत्यु भएको छ ।
आजको राजधानी दैनिकबाट









