
दोलखा, २ साउन ।
बागमती प्रदेशकै पहिलो बालमैत्री नगरपालिका भीमेश्वरले विद्यालय हटाएर वडा कार्यालय स्थापना गरेको छ । भीमेश्वर नगरपालिका–६, चोथाङस्थित वडाकै एकमात्र सामुदायिक विद्यालय महांकाल प्राविमा वडा नं. ६ को वडा कार्यालय स्थापना गरिएको हो। लकडाउन अघिसम्म सो विद्यालयमा नियमित कक्षा सञ्चालन भइरहेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा सो वडाको कार्यालय निर्माण गर्न ३४ लाख ४६ हजार ३ सय ७७ रुपैयाँ विनियोजन गरिए पनि उपयुक्त स्थान अभाव भएको भन्दै विद्यालयमा वडा कार्यालय स्थापना गरिएको हो। तीन दशकअघि स्थापना भएको र ५ कक्षासम्म पठनपाठन हुने सो विद्यालयमा ५० जना विद्यार्थी छन् ।
वडावासीलाई सबैभन्दा पायक पर्ने स्थान भएकाले विद्यालयलाई अन्यत्र स्थानान्तरण गरिएको वडाध्यक्ष नवीन लामाले बताए । वडा कार्यालय सञ्चालन, भवन मर्मत लगायत अन्य विविध खर्चका लागि २१ लाख रुपैयाँ छुट्ट्याइएको छ । सो विद्यालय साबिकको ठाउँबाट एक किमि पश्चिमतर्फको करिब ५ रोपनी सार्वजनिक जग्गामा सारिएको भीमेश्वर नगरका प्रवक्ता हरिवंश चौलागाईंले बताए ।
आजको अन्नपूर्ण पोष्टमा खबर छ ।









