नेपालमा ९९ प्रतिशत कोरोना संक्रमित लक्षणविहीन

काठमाडौं, २६ असार
नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् ।

नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १६ हजार ३ सय ६६ जनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । संक्रमितमध्ये १६ हजार ३५ जना विदेशबाट आएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमितमध्ये ९९ प्रतिशत लक्षणविहीन र ९७ प्रतिशत विदेशबाट फर्किएका (आयातित) छन् । यसरी हेर्दा हाल आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ८ हजार ५ सय १६ जना लक्षणविहीन रहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेले भने, ‘समुदायमा संक्रमण अझै फैलिएको छैन । संक्रमितमध्ये ८७ प्रतिशत पुरुष १५ देखि ५४ वर्ष उमेर समूहका रहेका छन् । तीन प्रतिशत संक्रमित विदेशबाट नआई घरमै रहेका छन् ।’

पीसीआर टेस्ट नै नगरी विदेशबाट रेस्क्यु फलाइटमार्फत सिधै आएका केही व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विदेशबाट आएकामध्ये ३५ प्रतिशतले मात्रै पीसीआर टेस्ट गरेको पाइएको छ । यसरी हेर्दा ५ हजार ६ सय १२ जनाले मात्रै पीसीआर परीक्षण गरेर नेपाल भित्रिएको देखिन्छ ।

यस्तै, १९ दिनको अवधिमा क्वारेन्टाइन मा बस्दै आएका ४९ हजार ५ सय ९७ जना क्वारेन्टाइन बाट बाहिरिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत ११ असारमा क्वारेन्टाइन मा ७४ हजार २२ जना रहेकामा बिहीबार घटेर २४ हजार ४ सय २५ जना क्वारेन्टाइन मा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना भाइरस संक्रमण देखिएसँगै संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

बिहीबार थप १ सय ३९ जना उपचारपछि निको भएर फर्केका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।
आजको राजधानी दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here